प्रदर्शनकारीलाई मोदीको जवाफ: आफ्नै देश जलाउनेहरू अपराधी हुन् - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

प्रदर्शनकारीलाई मोदीको जवाफ: आफ्नै देश जलाउनेहरू अपराधी हुन्



एजेन्सी- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकता संशोधन कानुनको विरोधमा भइरहेको प्रदर्शनबारे मुख खोलेका छन् ।

आइतरबार दिल्लीको रामलीला मैदानमा आयोजित र्‍यालीलाई सम्बोधन गर्ने क्रममा मोदीले नागरिकता संशोधन विधेयकलाई लिएर केही मानिसले झुट बोलिरहेको बताएका छन् । साथै उनले विपक्षीमाथि भारतको बदनाम गर्ने षडयन्त्र रचेको आरोप लगाएका छन् ।

‘पछिल्लो ५ वर्षमा सरकारले डेढ करोड विपन्न नागरिकलाई आवासको व्यवस्था गरेको छ, ७० लाख मानिसले आयुष्मान योजनाअन्तर्गत उपचार पाएका छन् । हामीले कसैलाई तिम्रो धर्म के हो भनेर सोधेनौं’, मोदीले भने, ‘तर केही मानिसले किन झुठ बोलिरहेका छन् ? किन देशलाई गुमराहमा राखिरहेका छन् ?’

साथै मोदीले दिल्लीबासीलाई उक्साउने काममा केही स्वार्थी मानिसहरु लागेको भन्दै आक्रोश समेत पोखेका छन् । उच्च स्तरका व्यक्तिहरुले झुठो कुरा गरेर मुस्लिमलाई भ्रमित पार्न खोजेको उनको भनाइ थियो ।

र्‍यालीलाई सम्बोधन गर्दै मोदीले भने- ‘दिल्लीबासीलाई उक्साउने काम भयो र यसका लागि सामाजिक सञ्जाल प्रयोग गरियो । अघिल्लो हप्ता सामाजिक सञ्जालमा भनेका झुठा कुरा, भिडियो, उक्साहटपूर्ण भाषण हेर्दा केही मानिसहरु आफ्नो स्वार्थ र राजनीतिका लागि कुन हदसम्म जान सक्छन् भन्ने देखिन्छ । माथिल्लो स्तरका मानिसहरुले नै सामाजिक सञ्जालमार्फत् भ्रम फैलाएर देशभर आगो लगाउने अपराध गरेका छन् ।’

त्यस्तै मुलुकको समस्या यथास्थितिमा राख्ने आफ्नो संस्कार नभएको पनि मोदीले बताए । ‘लाज पचाएका’ केही मानिसले सुस्त गतिमा काम गर्ने र समस्यालाई यथास्थितिमा नै राख्ने गरेको उनको भनाइ थियो ।

प्रधानमन्त्री मोदीले यसअघिका सरकारले दिल्लीबासीको समस्यालाई कहिल्यै पनि इमान्दारिताका साथ हल नगरेको बताए ।