मन्त्री पण्डित भन्छन : मोदीको भ्रमणलाई सफल बनाउन सरकारले कुनै कसर बाँकी राख्दैन - Himal Post Himal Post
  • २ चैत्र २०८१, आईतवार
  •      Sun Mar 16 2025
Logo

मन्त्री पण्डित भन्छन : मोदीको भ्रमणलाई सफल बनाउन सरकारले कुनै कसर बाँकी राख्दैन



काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई सफल बनाउनका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन्।

मंगलबार काठमाडौंमा भएको एक साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पण्डितले मोदीको दुई दिने नेपाल भ्रमणलाई पूर्ण रूपमा सफल बनाउनका लागि सरकारले आवश्यक तयारी गरिसकेको बताएका हुन्। उनले भने, ‘भारतीय प्रधानमन्त्री मोदीजीको भ्रमण सफल बनाउनका लागि सरकार, यहाँका वैधानिक राजनीतिक दलहरू, सामाजिक संघसंस्थाहरू सक्रिय भएर लागिपरिरहेका छन्।

अहिले हामी उहाँको भ्रमणको व्यवस्थापन गर्न अहोरात्र खटिरहेका छौँ। वास्तवमै भन्ने हो भने एक हिसाबले तीव्र रफ्तारमा काम भइरहेको छ।’ मन्त्री पण्डितले मोदीको भ्रमणसँगै नेपाल–भारत द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुने दाबी गरे। ‘नेपाल–भारत द्विपक्षीय सम्बन्धमा थप सकारात्मकताको सुरुवात हुन्छ’, उनले थपे, ‘भारतका प्रधानमन्त्री आउनुभयो भन्दैमा हामी हरेक कुरा उहाँले गरिदिनुपर्छ भनेर ठूलो लिष्ट लिएर बस्दैनौँ र मलाई अहिलेसम्म त्यस्तो लिष्ट बनेको पनि थाहा छैन।’

मोदीको भ्रमणको क्रममा सौहार्दपूर्ण कुराकानी हुने पण्डितको भनाइ थियो। मोदीको भ्रमणपछि नेपाल–भारत सम्बन्ध उच्चस्तरमा पुग्ने बताउँदै पण्डितले भने, ‘सकारात्मक भविष्यका लागि सकारात्मक कुराहरू हुन्छन्, विगतमा भएका सम्झौताहरूलाई कार्यान्वयन गर्ने कुरामा हामी जोड दिन्छौँ।’ भ्रमणको क्रममा नेपाल र भारतबीच भएको सन् १९५० को सन्धि र सीमा विवादबारे पनि छलफल हुन सक्ने पण्डितले जनाए।