मोदीको भ्रमण बारे विरोध गर्नेहरुको मानसिकता नै विरोधले ग्रस्त छ :प्रम ओली - Himal Post Himal Post
  • १० माघ २०८२, शुक्रबार
  •      Fri Jan 23 2026
Logo

मोदीको भ्रमण बारे विरोध गर्नेहरुको मानसिकता नै विरोधले ग्रस्त छ :प्रम ओली



काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले संविधान संशोधन गर्न नसकेको भनेर भारतसँग माफी नमागेको स्पष्ट पारेका छन्।

मोदीसँग ओलीले घुँडामा घाउ हुनेगरी लम्पसार परेको भन्ने कांग्रेसका नेता गगन थापाको भनाइप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री ओलीले संविधान संशोधन गर्न सकिनँ भनेर आफूले माफी नमागेको स्पष्टीकरण दिएका हुन्।

मंगलबार युवा संघको २८औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भारतीय प्रधानमन्त्रीसँग नेपालको हितमा केन्द्रित रहेर दृढतापूर्वक आफ्ना कुरा राखेको बताए।

प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको विषयलाई लिएर आफूलाई विरोध गर्नेहरुको मानसिकता नै विरोधले ग्रस्त भएको टिप्पणी गरे।

नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले माओवादी केन्द्रसँगको पार्टी एकता छिटै हुने बताएका छन्।

दुई दिनको मिति राखेर पार्टी एकता हुने बताउँदै उनले थपे, ‘दुई पार्टीबीच फाटो आएको भनेर खेल्ने र बोल्नेहरुलाई जवाफ दिनेगरी तत्काल पार्टी एकता हुन्छ।’

ओलीले पार्टी एकता हुन नदिनेहरुलाई सहने क्षमता वृद्धि गर्न मात्रै दुई पार्टीबीचको एकतामा ढिलाइ गरिएको पनि बताए।

प्रधानमन्त्री ओलीले सरकारले सामाजिक न्यायसहितको मुलुकको समृद्धि हुनेगरी बजेट ल्याउने प्रतिबद्धता व्यक्त गरे। ओलीले सरकारले ५ वर्षभित्र जनताको आधारभूत समस्या समाधान गर्ने दाबी समेत गरे।

उनले भ्रष्टाचार र कालाबजारी अन्त्यका लागि सरकारले चालेको कदममा साथ दिन पनि युवाहरुलाई आह्वान गरे।