भारतमा मोदी र राहुलको भाग्यको खेल सुरु : यसरी हुँदैछ चुनाव - Himal Post Himal Post
  • १ माघ २०८१, मंगलवार
  •      Tue Jan 14 2025
Logo

भारतमा मोदी र राहुलको भाग्यको खेल सुरु : यसरी हुँदैछ चुनाव



नयाँ दिल्ली । भारतमा आज १७ औं लोकसभाका लागि पहिलो चरणको आम निर्वाचन हुँदैछ । यो चुनाव भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका लागि जनमत संग्रहका रुपमा लिइएको पाइएको छ । आजको निर्वाचनमा १० औं लाख मानिसले २० वटा राज्यका ९१ वटा निर्वाचन क्षेत्रमा मतदान गर्दैछन् ।

भारतको लोकतान्त्रिक अभ्यासलाई लिएर नै भारतलाई विश्वकै सबैभन्दा ठूलो लोकतन्त्र भन्ने गरिएको छ । विभिन्न सात चरणमा हुने यो निर्वाचन आगामी मे १९मा सकिनेछ र मतगणना मे कै २३ तारेखमा हुनेछ । भारतमा अहिले करिब ९० करोड मतदाता मतदानका लागि योग्य रहेका छन् ।

हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी सन् २०१४ को चुनावमा विजयी भएपछि मोदी प्रधानमन्त्री भएका हुन् । संसद्को तल्लो सदन लोकसभामा ५ सय ४३ निर्वाचित सिट मध्ये सरकार बनाउनका लागि कुनै पनि पार्टी वा गठबन्धनले कम्तीमा २ सय ७२ सिट जित्नुपर्नेछ ।

भारतीय जनता पार्टीलाई अहिले प्रमुख विपक्षी कांग्रेस आइ नेतृत्वको गठबन्धनले टक्कर दिइरहेको छ । यो निर्वाचनका क्रममा सत्तापक्ष र विपक्ष चर्को आरोप प्रत्यारोपमा उत्रिएका छन् । प्रधानमन्त्री मोदी नै सत्तापक्षका लागि मत माग्ने प्रमुख व्यक्ति रहेका छन् । यद्यपि उनले अन्तिम अवस्थामा पुगेको उनको पहिलो कार्यकालमा भएका कामलाई लिएर जनतालाई सन्तुष्ट पार्न भने सकेका छैनन् ।

आलोचकहरूले आर्थिक वृद्धि र रोजगारीको अवससर सिर्जना गर्ने उनको वाचा पूरा हुन नसकेको आरोप लगाएका छन् । त्यस्तै मुलुकलाई धार्मिक हिसाबले ध्रुवीकरण गरेको आरोप पनि उनी माथि रहेको छ । उनको कार्यकालमा हिन्दूलाई च्याप्ने र मुश्लिम समुदायमाथि असहिष्णु रहेको आरोप लाग्दै आएको छ । अघिल्लो चुनावमा ६६ प्रतिशत मत खसेकोमा अहिले कति खस्छ त्यो यसै भन्न सकिने अवस्था छैन ।

अहिले बिहान स्थानीय समयअनुसार ७ बजेबाट शुरु निर्वाचन आन्ध्र प्रदेश, अरुणाञ्चल प्रदेश, आसाम, विहार, छत्तीसगढ, जम्मु काश्मीर, महाराष्ट्र, मणिपुर, मेघालय, मिजोरम, नागाल्याण्ड, उडिसा, सिक्किम, तेलंगना, त्रिपुरा, उत्तर प्रदेश, उत्तराखण्ड, पश्चिम बंगाल, अन्दामन र निकोबार प्रायदीप र लक्षदीपमा हुँदैछ । (बीबीसी)