मोदीले गरे प्रचण्डको यस्तो प्रशंसा ! - Himal Post Himal Post
  • ११ माघ २०८१, शुक्रबार
  •      Fri Jan 24 2025
Logo

मोदीले गरे प्रचण्डको यस्तो प्रशंसा !



नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणको विषयमा पार्टीलाई जानकारी दिएका छन् ।

बुधबार बसेको नेकपा केन्द्रीय सचिवालय बैठकमा भारत भ्रमणबारे ब्रिफिङ गर्दै अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीसँग भएको भेटघाटका विषयमा पार्टीलाई जानकारी गराएका हुन् ।

प्रचण्डले मोदीसँग भदौ २३ गते भएको भेटको जानकारी बुधबार साँझ बालुवाटारमा सुनाएका थिए । उनले भने, ‘प्रधानमन्त्री मोदीले अघिल्लो दिन मैले गरेको सबै सम्बोधन सुनेका रहेछन्, मसँगको कुराकानीमा उनले ‘तपाईंले भनेका सबै कुरा थाहा पाएँ भने र मैले बोलेको कुराको प्रशंशा गरे ।’

२३ भदौमा मोदीसँग भेट हुनुअघि प्रचण्डले २२ भदौमा नयाँदिल्लीको सप्रु हाउसमा ‘इन्डियन काउन्सिल फर वल्र्ड अफेयर्स’ ले आयोजना गरेको नेपाल–भारत सम्बन्धबारे लामो प्रबचन दिएका थिए ।

त्यसैदिन साँझ ‘पिएचडी चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्री’ ले नयाँ दिल्लीको अगष्ट क्रान्ति मार्गमा आयोजना गरेको अर्को कार्यक्रममा पनि उनी सहभागी थिए । त्यो कार्यक्रममा उनले उद्योगी व्यापारीहरुसँग अन्तरक्रिया गरेका थिए । प्रचण्डले नेपालमा लगानी गर्न कुनै समस्या नरहेको र ढुक्कसँग लगानी गर्न भारतीय व्यापारीहरुलाई आग्रह गरेका थिए ।

प्रचण्डले आफ्नो भनाइ सुनेर मोदी मात्र नभइ भारतीय व्यापारीहरु पनि प्रभावित भएको पार्टीलाई जनाकारी गराए ।

‘तपाईंले दुबै कार्यक्रममा निकै राम्रो बोल्नु भएछ, त्यसबाट भारतका व्यापारी, बुद्धिजीवी तपाईंसँग प्रभावित भएका छन्’ प्रचण्डले भने, ‘भारतमै चुनाव लडेपनि तपाईंले प्रचण्डले जित्न सक्नुहुन्छ भनेर मोदीले मलाई सुनाए।’