मतदान गरेपछि माेदीले भने : बम भन्दा मतदान बढी शक्तिशाली हुन्छ - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

मतदान गरेपछि माेदीले भने : बम भन्दा मतदान बढी शक्तिशाली हुन्छ



अहमदाबाद- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नाे मताधिकार सुरक्षित गरेका छन्। ९० वर्षीया आमा हिराबेन मोदीसहित उनले गुजरातको अहमदाबादमा मतदान गरेका हुन्।

प्रधानमन्त्री मोदीले अहमदाबादको रनिप क्षेत्रको निशान उच्च माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गरेका भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्।

उनले मतदानपछि सबै मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गरेका छन्। आतङ्कवादीले प्रयोग गर्ने विस्फोटक पदार्थभन्दा मतदातासँग रहने मतदाता परिचयपत्र बढी शक्तिशाली रहेको उनकाे जिकिर थियाे।

भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह पनि प्रधानमन्त्री मोदीसँगै मतदान स्थल पुगेका थिए। शाह गुजरातको गान्धीनगर निर्वाचन क्षेत्रबाट लोकसभा सदस्यमा उम्मेदवार बनेका छन्। शाहले पनि गुजरातमै मतदान गरेका थिए।

गुजरातमा बिहान ७ बजे नै मतदान केन्द्रहरु खुलेका थिए। मतदानको कार्य साँझ ६ बजेसम्म चल्नेछ।

गुजरातका सबै २६ निर्वाचन क्षेत्रमा मङ्गलबार चुनाव हुँदैछ। गुजरातमा ३ सय ७१ जना उम्मेदवार चुनावी मैदानमा छन्।

भारतीय लाेकसभा निर्वाचनअन्तर्गत तेस्राे चरणकाे मतदान आज भइरहेकाे छ। आज भारतका १३ राज्य र केन्द्रबाट शासित २ प्रदेशमा मतदान जारी छ। १ सय १७ लाेकसभा सिटका लागि हुने आजकाे निर्वाचनमा गुजरात, केरला, महाराष्ट्र र कर्नाटककाे ७४ सिटलाई भने महत्वपूर्ण मानिएकाे छ।

सबै १ सय १७ सिटका लागि १ हजार ६ सय १२ उम्मेदवार चुनावी मैदानमा छन्। जसमध्ये ३ सय १४ उम्मेदवार राष्ट्रिय दलबाट, ७६ जना क्षेत्रीय दलबाट, ४ सय ९२ जना गैर मान्यता प्राप्त दलबाट र ७ सय १२ जना स्वतन्त्र उम्मेदवार रहेकाे भारतकाे चुनाव आयाेगले जनाएकाे छ।

याे चरणमा गुजरात (२६ सिट), केरला (२० सिट), कर्नाटक (१४ सिट), महाराष्ट्र (१४ सिट), गोवा (२ सिट), आसाम (४ सिट), बिहार (५ सिट), ओडिसा (६ सिट), उत्तर प्रदेश (१० सिट), छत्तीसगढ (७ सिट), पश्चिम बंगाल (५ सिट), दमन र दिव (१ सिट), दादर नागर हवेली (१ सिट) र जम्मू-काश्मीर (१ सिट) मा मतदान भइरहेकाे छ।

आजकाे चुनावमा विशेषगरी प्रमुख २ दल सत्तारुढ भारतीय जनता पार्टी र प्रमुख प्रतिपक्ष भारतीय कांग्रेस दुबैका लागि महत्वपूर्ण छ। आजैका दिन दुबै पार्टीका प्रमुखकाे चुनावी भविष्यबारे निर्क्याेल हुनेछ। बिजेपी अध्यक्ष अमित शाह गुजरातकाे गान्धीनगरबाट र कांग्रेस अध्यक्ष राहुल गान्धी वायनाड संसदीय क्षेत्रबाट चुनावी लड्दैछन्।