मोदीलाई ठुलो धक्का, २३ नेताले एकैचोटी पार्टी त्यागे
भारतमा आम चुनावको पूर्वसन्ध्यामा सत्ताधारी पार्टी भारतीय जनता पार्टी बीजेपीलाई ठूलो झट्का लागेको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीको दल बीजेपीबाट दुई दिनमा महत्वपूर्ण २३ नेताले पार्टी त्याग गरेका हुन्। यसले आम चुनावमा बीजेपीलाई गहिरो असर पर्ने अनुमान गरिएको छ।
मंगलबार अरुणाचल प्रदेशमा मात्र बीजेपीको तर्फबाट मन्त्री रहेका २ नेता तथा ६ विधायक समेत गरी २० नेताले पार्टी त्याग गरे। उनीहरु नेसनल पिपल्स पार्टी एनपीपीमा प्रवेश गरेको जनाइएको छ।
गृह मन्त्री कुमार वाई, पर्यटन मन्त्री जरकार गामलिन, बीजेपी महासचिव जरपुम गामबिन लगायतका नेताहरु एनपीपीमा प्रवेश गरेका हुन्।
यससँगै राज्य विधानसभामा एनपीपीका विधायकहरुको संख्या १३ पुगेको छ। यद्यपी ६० सदस्यीय विधानसभामा अझै बीजेपीसँग ४० विधायकहरुको समर्थन छ।
भारतका अन्य प्रदेशहरुमा समेत बीजेपीका नेताहरुले पार्टी त्याग गरेर अन्य दलमा प्रवेश गरेको जनाइएको छ।
भारतमा आम चुनाव आगामी अप्रिल ११ तारिखदेखि सुरु भएर मे १९ मा सम्पन्न हुनेछ। ७ चरणमा हुने चुनावले १७ औं लोकसभा गठन गर्नेछ।