मोदीले भने : घर–घरमा छिरेर आतंकवादी मार्छौं
नयाँदिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादीलाई घर–घरमा छिरेर मार्ने चेतावनी दिएका छन् । भारत प्रशासित काश्मिरमा गत फेब्रुअरी १४ तारिखमा भएको आत्मघाती हमलाको यत्तिका दिनपछि पनि भारत पाकिस्तानबीचको तनाव बढिरहेका बेला मोदीको यस्तो भनाई बाहिरिएको हो ।
दुई दिने गुजरात भ्रमणमा रहेका मोदीले अहमदाबादमा र्यालीलाई सम्बोधन गर्दा विपक्षी पार्टी र पाकिस्तानमाथि तिखो हमला गरेका छन् ।
उनले सोमबारको सम्बोधनमा भने, ‘भारतका केही नेता जो बयानबाजी गर्छन् त्यो पाकिस्तानको पत्रिकामा हेडलाइन बन्ने गर्छ, यो देशको लागि दुर्भाग्य हो । म अब लामो प्रतिक्षा गर्न सक्दिनँ । छानी–छानी हिसाब लिनु मेरो विशेषता हो । ’
‘अब घर–घरमा छिरेर मार्नेछौं । विगत ४० वर्षदेखि आतंकवादले हिन्दुस्तानको छातीमा गोली हानिरहेको छ तर भोट बैंकको राजनीतिमा डुबेका मानिसहरु केही ठोस् कदम उठाउन डराउँछन्, ’ उनले भने, ‘मलाई सत्ताको मतलब छैन, मलाई मेरो देशको चिन्ता छ । मेरो देशका मानिसहरुको सुरक्षाको पर्वाह छ । ’
साथै, उनले आतंकवादीलाई पातल मुनी गएर भए पनि मार्ने चेतावनी दिएका छन् ।