चुनाव जितेपछिका मोदी - अब के छ तयारी ? - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

चुनाव जितेपछिका मोदी – अब के छ तयारी ?



काठमाडौं । भारतीय प्रधानमन्त्रीको पदमा नरेन्द्र मोदी पुनः दोहोरिने सम्भावना लगभग निश्चित देखिएको छ । भारतमा भइरहेको मतगणनाले यो स्पष्ट पारिसकेको छ । उनले २६ मे २०१४को दिनदेखि भारतको १५ औं प्रधानमन्त्रीको रुपमा कार्यभार सम्हालेका हुन् । उनले सन् २०१४मा शपथ गरेकै दिन ४५ जना मन्त्रीहरुले पनि शपथ लिएका थिए । सो शपथग्रहण समारोहमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का सबै राष्ट्रका कार्यकारी प्रमुखलाई निम्तो गरिएको थियो ।

१६ मे २०१४मा भारतीय १६ औं लोकसभाको नतिजा सार्वजनिक भएपछि मोदीले २० मे का दिन तत्कालीन भारतीय राष्ट्रपति प्रवण मुखर्जीलाई भेटेका थिए । भारतीय राष्ट्रपतिले मोदीलाई सरकार बनाउन सोही अवसरमा निम्तो दिएका थिए । भाजपा एक्लैले सो चुनावमा २८२ सिट जितेको थियो । भाजपा नेतृत्वको गठबन्धनको समेत गरेर कूल ३३६ सिट त्यतिबेला जितेको थियो ।

सन् १९८४ को निर्वाचनपछि सबैभन्दा बलियो म्यान्डेट त्यतिबेला मोदीलाई प्राप्त भएको थियो । भाजपाले त्यसपछि २६ मे २०१४को साँझ ६ बजे शपथको कार्यक्रम तय भएकोमा सो दिनको ६ः१३ बजे शपथ लिएका थिए । राष्ट्रपति भवनमा आयोजित शपथ ग्रहण समारोहमा मोदीले आफ्ना विदेशी मित्रहरुसँग आफ्नो सरकारको विदेश नीतिको प्राथमिकताबारेमा पनि बताएका थिए ।

कार्यक्रममा भाग लिन तत्कालीन विदेश सचिव सुजाथा सिंहले सार्क क्षेत्रका कार्यकारी प्रमुखलाई पत्र पठाएकी थिइन् ।

कार्यक्रममा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालादेखि पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफ, श्रीलंकाका राष्ट्रपति महिन्द्रा राजपक्षे, अफगानिस्तानका राष्ट्रपति हमिद कारजाई, भुटानका प्रधानमन्त्री छिरिङ्ग तोग्बे, बंगलादेशको संसदका सभामुख सिरिन सर्मीन चौधरी र मोरिससका प्रधानमन्त्री नविनचन्द्र रामगूलाम सहभागी थिए । बंगलादेशका प्रधानमन्त्री बेगम खालिदा जियाको जापान भ्रमणको पूर्वनिर्धारित कार्यक्रम भएकोले आफ्नो सट्टामा सभामुखलाई भारत पठाएकी थिइन् ।

शपथ ग्रहण समारोहमा ४ हजार मानिसको सहभागिता रहेको थियो । नयाँ दिल्लीस्थित कतिपय स्रोतहरुले यसपालिपनि मोदीले सार्क क्षेत्रका सरकार प्रमुखलाई शपथ ग्रहण समारोहमा बोलाउन सक्ने बताएपनि सबै नतिजा नआइ अहिले नै यसबारेमा बोल्नु चाँडो हुने अन्य केहीले बताएका छन् ।