भारतमा मोदी सरकारविरुद्ध विरोध प्रदर्शन: नेताहरुले दिए गिरफ्तारी - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

भारतमा मोदी सरकारविरुद्ध विरोध प्रदर्शन: नेताहरुले दिए गिरफ्तारी



एजेन्सी– नरेन्द्र मोदी नेतृत्वको सरकारले डिजेल र पेट्रोलमा गरेको मूल्य बृद्धिको विषयलाई लिएर सोमबार भारत बन्दको आह्वान गरिएको छ । भारत बन्दको क्रममा विपक्षी दलका नेताहरुको नेतृत्वमा अलग–अलग स्थानमा बृहत प्रदर्शनहरु समेत भएका छन् । ती विशाल विरोध प्रदर्शन कंग्रेस आइ र वामपन्थी पार्टीको नेतृत्वमा भएका हुन् ।

सोही क्रममा विपक्षी दलको नेतृत्व गरिरहेको कांग्रेस आइका नेताहरुको नेतृत्वमा दिल्लीको रामलिला मैदानमा विशाल र्याली निकालेको थियो, जसको नेतृत्व सो पार्टीका अध्यक्ष राहुल गान्धीले गरेका थिए । कांग्रेस आईको नेतृत्वमा भएको सो प्रदर्शनमा राष्ट्रवादी कांग्रेस पार्टी, राष्ट्रिय जनता दल, लोकतान्त्रिक जनता दल, झारखण्ड मुक्ति मोर्चा, झारखण्ड विकास मोर्चा लगायतका पार्टी प्रतिनिधिहरु र ठूलो संख्यामा पार्टी कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

दिल्ली सरकारको नेतृत्व गरिरहेको आम आद्मी पार्टीले कांग्रेस आईसँग नभई अलग्गै विरोध प्रदर्शन गर्ने अघोषित निर्णय गरेपनि अन्ततः सोही प्रदर्शनमा ऐक्यबद्धता जनाएको थियो । आम आद्मी पार्टीका तर्फबाट सो विरोध प्रदर्शनमा राज्यसभा सदस्य सञ्जयसिंहले प्रतिनिधित्व गरेका थिए ।

विरोध प्रदर्शनकै क्रममा वामपन्थी नेता सिताराम यचुरी, नेताहरु डी राजा, निलोत्पल बसु लगायतका नेताहरुले गिरफ्तारी दिएका छन् । प्रहरीले उनीहरुलाई केहीबेरपछि रिहा गरेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

कांग्रेस आईको नेतृत्वमा भएको विरोध प्रदर्शनमा पूर्वप्रधानमन्त्री मनमोहनसिंह, नेतृ सोनिया गान्धी, नेताहरु शरद यादव, शरद पवार, हेमन्त सोरेन, बाबुलाल मरांडी लगायत सहभागी रहेका थिए ।  कांग्रेस आई र वामपन्थी पार्टीहरुले आयोजना गरेको अलग–अलग विरोध प्रदर्शनमा वामपन्थी नेताहरुले भने भारतीय जनता पार्टी र कांग्रेस आईको समेत विरोध गरेका थिए ।

प्रदर्शनका क्रममा भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीका महासचिव सिताराम येचुरीले सरकारको कदमले आम सर्वसाधारणले आर्थिक मार खेप्नुपरेको आरोप लगाएका छन् । यसले जनतालाई थप आक्रोसित बनाएको समेत उनले बताए । बन्द र  प्रदर्शनको प्रभाव भारतको तमिलनाडु, उडिसा लगायतका राज्यहरुमा सबैभन्दा बढी परेको सञ्चारमाध्यामहरुले जनाएका छन् ।

भारतमा आइतबार पेट्रोलमा १२ पैसा प्रति लिटर र डिजेलमा १० पैसा प्रतिलिटर वृद्धि गरिएको छ । केही राज्यमा पेट्रोलको मूल्य ८० भारु माथि पुगेको छ जुन अहिलेसम्मको सबैभन्दा महँगो हो । दिल्लीमा पेट्रोलको मूल्य ८०.५० भारु र डिजेलको मूल्य ७२.६० भारु प्रतिलिटर भएको  छ । बिहारमा पेट्रोलको मूल्य योभन्दा पनि धेरै भएको छ ।

भारतमा एकातर्फ पेट्रोलियम पदार्थको मूल्य बढिरहेको छ भने अर्कोतर्फ डलरको तुलनामा भारु हरेक नयाँ दिन झन खस्केको हुन्छ ।   यही सेरोफेरोमा सन् २०१९ मा हुने लोकसभा चुनाव र त्योभन्दा पहिले ४ राज्यहरुमा हुने विधानसभा चुनावलाई लक्षित गरेर विपक्षी पार्टीहरु यो मुद्धालाई उठाउन खोज्दै छन् ।

भारतको प्रमुख विपक्षी पार्टी कङ्ग्रेसले तेलको बढ्दो मूल्य र रुपैयाँको जारी गिरावटमार्फत केन्द्रको मोदी सरकारमाथि दबाब हाल्ने निर्णय गरेको छ ।