भारतमा फेरि मोदीलाई भारी बहुमत- यस्तो छ अवस्था - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

भारतमा फेरि मोदीलाई भारी बहुमत- यस्तो छ अवस्था



नयाँ दिल्ली । भारतीय संसदको तल्लो सदन लोकसभाका ५ सय ४३ स्थानका लागि मतदान सम्पन्न भएको छ । आइतबार सातौं तथा अन्तिम चरणमा केन्द्र शासित चन्डीगढसहित ५९ सिटका लागि मतदान भएसँगै लोकसभा निर्वाचनमा मतदान सम्पन्न भएको हो ।

आइतबारको निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीसहित ९ सय १८ जना उम्मेदवारको भाग्यको फैसला हुनेछ । प्रधानमन्त्री मोदी उत्तर प्रदेशको वाराणसीबाट उम्मेदवार बनेका छन् । उनलाई भारतीय राष्ट्रिय काँग्रेसका अजय राय र समाजवादी पार्टीका शलिनी यादवले चुनौती दिएका छन् ।

सातौं चरणको निर्वाचनमा उत्तर प्रदेश र पञ्जाबमा १३–१३ सिट, पश्चिम बंगालका नौ, बिहार र मध्यप्रदेशका आठ–आठ सिट, हिमाञ्चलका सबै चार सिट, झारखण्डका तीन सिट तथा केन्द्र शासित चण्डीगढको एक सिटमा मतदान सम्पन्न भएको हो । अब २३ मेमा लोकसभा निर्वाचनको मतपरिणाम सार्वजनिक हुनेछ ।

मतदान सम्पन्न भएसँगै लोकसभा निर्वाचनका विभिन्न मतपरिणामका सर्वेक्षणहरु सार्वजनिक भएका छन् । एग्जिट पोल भनिने मतदान गरेर निस्किरहेकाहरूसँग गरिएको सर्वेक्षणहरूका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदी पुनः शक्तिमा आउने देखिएको छ ।

एग्जिट पोल अन्तर्गत रिपब्लिक÷सी भोटरका अनुसार भाजपा नेतृत्वको एनडीएले २ सय ८७, काँग्रेस नेतृत्वको युपीएले १ सय २८ र अन्य गठबन्धनले १ सय २७ स्थानमा जित हासिल गर्न सक्ने देखिएको छ ।

यस्तै टाइम्स नाउ/भीएमआरका अनुसार एनडीएल ३ सय ६ सिट, युपीएले १ सय ३२ सिट र अन्यले १ सय ४ सिटमा जित हासिल गर्न सक्छन् ।
रिपब्लिक/जनका अनुसार एनडीएले ३ सय ५, युपीएले १ सय २४ र अन्यले १ सय १३ ल्याउने देखिएको छ ।

न्युज नेशनकाअनुसार एनडीएले २ सय ८२ देखि २ सय ९० सम्म, युपीएले १ सय १८ देखि १ सय २६ सम्म र अन्यले १ सय ३० देखि १ सय ३८ सम्म सीट जित्नसक्नेछन् । यद्यपि विगतका एग्जिट पोलका नतिजाहरू सत्यभन्दा निकै टाढा भएको पनि पाइएको छ ।

यो निर्वाचनबाट भारतीय मतदाताहरूले हिन्दू राष्ट्रवादी प्रधानमन्त्री नरेन्द्र मोदीले थप पाँच वर्ष शासन गर्न पाउने वा नपाउनेबारे फैसला गर्नेछन् । यो पटकको निर्वाचनलाई धेरैले मोदी र काँग्रेस अध्यक्ष राहुल गान्धीबीचको प्रतिस्पर्धाका रुपमा पनि हेरेका छन् । भारतको लोकसभामा सरकार बनाउनका न्यूनतम २७२ सिट जित्नुपर्ने हुन्छ ।

सन् २०१४ को निर्वाचनमा केही च्यानलको एग्जिट पोलमा भाजपाले आफ्नै शक्तिमा बहुमतको आंकडा पार गर्ने उल्लेख गरेका थिए । उनीहरुको दाबी सही सावित भएको थियो ।

भाजपा नेतृत्वको एनडीएका बारेमा एबीपी न्युज–नीलसन, सीएनएन आईबीएन–सीएसडीएस, इन्डिया टुडे–सिसेरो, इन्डिया टिभी–सी भोटर, न्युज २४–चाणक्य, टाइम्स नाउ–ओआरजीले क्रमश २८१, २७०, २६१–२८३, २८९, ३४० र २४९ सिटमा जित हासिल गर्ने अनुमान गरेका थिए ।

यसैगरी काँग्रेस नेतृत्वको युपीएका बारेमा यीनै च्यानलहरुले क्रमशः ९७, ९२–१०२, ११०–१२०, १०१, ७० र १ सय ४८ सिट जित्ने अनुमान गरेका थिए । अन्य दलका बारेमा क्रमशः १६५, १५०–१६२, १५३, १३३ र १४६ सिटको अनुमान गरेका थिए ।

यी सबै सिटको विश्लेषण गर्ने हो भने सबै सर्वेक्षणमा भाजपाले २ सय भन्दा माथि सिटमा जित हासिल गर्ने देखाइएको थियो । त्यसभन्दा अघि सन् १९९८ र १९९९ को चुनावमा भाजपाको सबैभन्दा राम्रो प्रदर्शन १ सय ८२ सिट थियो ।

यसैगरी सर्वेक्षणमा यूपीको ८० सिटमध्ये भाजपाले ४५ भन्दा बढी सिटमा जित हासिल गर्ने उल्लेख गरिएको थियो । यस्तै राष्ट्रिय पार्टी भाजपाबाहेक ममता बनर्जीको तृणमूल कांग्रेस र जयललिताको एआईएडीएमकेले २० भन्दा बढी सिटमा जित हासिल गर्ने भविष्यवाणी पनि सही ठहरिएको थियो ।