मोदीलाई बहिस्कार गरौँ : मोहनविक्रम सिंह - Himal Post Himal Post
  • १० माघ २०८२, शुक्रबार
  •      Fri Jan 23 2026
Logo

मोदीलाई बहिस्कार गरौँ : मोहनविक्रम सिंह



काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमण प्रति नेपा कम्युनिष्ट पार्टी (मसाल) ले कडा शब्दमा आपत्ति जनाएको छ ।

पार्टीका महामन्त्री मोहनविक्रम सिंहले एक वक्तव्य जारी गर्दै भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको समाचार प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

पार्टीले उनलाई नेपालमा स्वागत गर्नु नेपालको राष्ट्रिय स्वाभिमान र सम्मानका विरुद्धको कुरा हुने जनाएको छ ।

नेपालको संविधानको निर्माणको बेलामा त्यसको निर्माण र जारी हुन नदिन मोदी सरकारले धेरै नै दवाव दिएको बताउँदै संविधानलाई खारेज गराउन वा त्यसमा राष्ट्रघाती प्रकारका संशोधनहरु गराउन उनले नेपालका विरुद्ध नाकाबन्दी लगाउने काम गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा तराईमा आफ्ना मुट्ठीभर पृथकतावादीहरुलाई उक्साएर तराईलाई नेपालबाट अलग गराउन वा राष्ट्रिय विखण्डनका लागि उक्साउने काम गरेका थिए । नेपालको संविधानका विरुद्ध अन्तर्राष्ट्रिय अभियान नै चलाएका थिए ।’

भारतले नेपालाई पूरै नै आफ्नो नियन्त्रणमा राख्नका लागि भारतीय शासक वर्गहरुले चीनसितको सम्बन्ध विस्तारका सबै प्रयत्नहरुलाई रोक्नका लागि पूरै प्रयत्न गर्दै आएको पार्टीले जनाएको छ ।

त्यस्तै, नेपालको अन्य देशहरुसितको व्यापारलाई नियन्त्रित गर्न र नेपालमा आफ्नो एकलौटी बजार कायम गर्न त्यसले अहिलेसम्म पारवहन सन्धिलाई पनि अनुमोदन गरेको छैन ।

त्यो बाहेक आफ्नो कट्टर हिन्दूवादी चरित्रका कारणले मोदी सरकारले नेपाललाई हिन्दूराष्ट्र बनाउनका लागि कैयौं प्रकारका षडयन्त्रहरु गर्दै आएको पार्टीले विज्ञप्तिमा उल्लेख गरेको छ ।

‘उनीहरुले राजतन्त्रको पुनस्र्थापनाका लागि राजावादीहरुलाई प्रोत्साहित गर्ने काम गरिरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘ती उद्देश्यहरु पूरा गर्न नेपालका विभिन्न राजनीतिक पार्टीहरुलाई विभिन्न प्रलोभनहरु दिएर किन्ने वा दवाव दिने समेत काम गरिरहेका छन् । ती सबै नीतिहरुका पक्षमा वर्तमान सरकारलाई बढीभन्दा बढी उपयोग गर्ने प्रयत्न भइरहेको छ ।’

महामन्त्री सिंहले मोदी कुनै पनि अवस्थामा नेपालका मित्र नभएकाले उनको स्वागत गर्नु स्वाभिमान र सम्मानका विरुद्ध हुने बताउँदै उनको सरकारी वा गैरसरकारी स्तरमा स्वागत गर्ने कुनै पनि कार्यको कडा शब्दमा विरोध गर्ने बताएका छन् ।