मोदी 2.0 - छिमेकीको सम्बन्धमा नजर - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

मोदी 2.0 – छिमेकीको सम्बन्धमा नजर



काठमाडौं। सन् २०१४ मा पहिलोपटक भारतको प्रधानमन्त्री बनेर विश्व चर्चामा आएका नरेन्द्र मोदीले दोस्रो कार्यकालको सुरुआत गरेका छन् ।

अभूतपूर्व विजय हासिल गरेका मोदीले दोस्रो कार्यकालको शपथग्रहणमा पहिलेभन्दा फरक रवैया देखाए ।

अघिल्लोपटक ‘सार्क’ सदस्य राष्ट्रहरुलाई डाकेका मोदीले यसपटक भने ‘बिम्स्टेक’ सदस्य राष्ट्रहरुलाई डाकेर पाकिस्तानलाई पाखा लगाएका छन् ।

पहिलो कार्यकालमा नरेन्द्र मोदी विश्वभर नै चर्चामा रहे । फरक व्यक्तित्व र जीवनशैलीका कारण पनि मोदी विश्वका चर्चित नेताहरुमा परिरहे ।

पहिलो कार्यकालको सुरुआत गर्दै उनले छिमेकी राष्ट्रहरुसँगको सम्बन्ध थप सुधार गर्ने बताएका थिए ।

तर, नरेन्द्र मोदी प्रधानमन्त्री हुँदा छिमेकी देशहरुसँग भारतको सम्बन्धमा खासै परिवर्तन आउन भने सकेन ।

दोस्रो कार्यकाल सुरु गर्ने शपथग्रहण समारोहमा त छिमेकी पाकिस्तानलाई निम्तोसमेत गरेनन् ।

शपथग्रहण समारोहमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसहित बिम्स्टेक सदस्य राष्ट्रका सरकार प्रमुखहरु सहभागी भएका छन् ।

त्यसो त भारतका लागि पूर्वनेपाली राजदूत दुर्गेशमान सिंह पनि पाकिस्तानसँगको सम्बन्ध चिसिएकाले भारतले अर्को समूहमार्फत् छिमेकी तथा अन्य साझेदार देशहरुसँगको सम्बन्धलाई मजबुद् बनाउन खोजेको बताउँछन् ।

भारतको सम्बन्ध पाकिस्तानसँगमात्र होइन, बंगलादेशसँग पनि खासै सुमधुर छैन । यस्तो अवस्थामा भारतले नेपालसँगको सम्बन्धलाई मजबुद् बनाउनु आवश्यक छ ।

मोदीको उदयपछि नेपालले पनि भारतको सद्भाव र सहयोगको अपेक्षा गरेको थियो । तर, त्यो अपेक्षाविपरीत भारतले नेपालको राजनीतिमा पहिलेभन्दा बढी चासो देखाउन थालेको महसुस नेपालमा गरियो ।

वि.सं. २०७१ जेठ १२ गते कार्यभार सम्हालेपछि साउनमा दुईदिने सद्भाव भ्रमणका लागि प्रधानमन्त्री मोदी नेपाल आए । त्यस भ्रमणका दौरान उनको सम्बोधन र क्रियाकलापले नेपालीमा राम्रो छाप छोड्न सफल भए ।

उनले नेपालको आन्तरिक मामिलामा भारतले हस्तक्षेप नगर्ने पनि बताए ।

तर, संविधानसभाबाट संविधान जारी गर्नेक्रममा भारतले प्रभावित गर्न खोज्यो । खासगरी धर्मनिरपेक्ष संविधान नबनोस् भन्ने मोदीको चाहनाविपरीत नेपालले २०७२ साल असोज ३ गते संविधान जारी गर्‍यो ।

संविधानमा मधेसी दलहरुको असन्तुष्टिलाई बहाना बनाउँदै भारतले नेपालमाथि अघोषित नाकाबन्दी नै गर्‍यो । जसले मोदीप्रतिको नेपालीहरुको सद्भावमा ह्रास ल्यायो ।

नाकाबन्दीपछि दुईपटक नेपाल आएर मोदीले नेपालप्रतिको आफ्नो लगाव भने पुनर्पुष्टि गर्न खोजे ।

कूटनीतिज्ञ सिंहले पनि भारत र नेपाल दुवै देशका नेताहरुले अघोषित नाकाबन्दीबाट पाठ सिकिसकेको बताउँछन् ।

दोस्रो कार्यकाल सुरुआत गरेका मोदीमा पहिलेभन्दा झन् आत्मविश्वास बढेको विश्लेषण गरिँदैछ । तर, नेपाललगायत छिमेकीहरुसँगको सम्बन्धलाई उनले कसरी अघि बढाउँछन् भन्नेचाहिँ प्रतीक्षाकै विषय बनेको छ ।