विदेशबाट ल्याएका यस्ता मोबाइल नेपालमा चलाउन नपाइने - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

विदेशबाट ल्याएका यस्ता मोबाइल नेपालमा चलाउन नपाइने



काठमाडौं : भन्सार प्रणाली छलेर अवैध रूपमा भित्र्याइने मोबाइल सेट अब नचल्ने भएका छन्। मोबाइल पहिचानका लागि प्रयोग हुने ‘इन्टरनेसनल मोबाइल इक्विप्मेन्ट आइडेन्टिटी (आईएमआई) नम्बर दर्ता गरेपछि मात्र प्रयोगका लागि योग्य हुने प्रणाली लागु हुने भएपछि अवैध मोबाइल नचल्ने भएका हुन्।

गोरखापत्र दैनिकका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले यस्तो प्रणाली लागु गराउन सोमबार कम्पनी छनोट गरेको छ। प्राधिकरणका कार्यवाहक अध्यक्ष पुरुषेत्तम खनालका अनुसार ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’(एमडीएमएस नाम दिइएको उक्त प्रणाली ६ महिनाभित्र पूर्ण कार्यान्वयनमा आउनेछ।

‘एमडीएमएस लागु गराउन कम्पनी छनोट भइसकेको छ’, उनले भने, ‘एक हप्ताभित्र सम्झौतामा हस्ताक्षर गरेर छ महिनाभित्र यो लागु गराउँछौँ।’ प्राधिकरणले एमडीएमएस प्रणाली लागु गराउन माग गरेको आशयपत्रमध्ये छनोटमा परेका अन्तिम छ कम्पनीमध्येबाट न्यु मेरा एम मलेसिया, ओएसआई कन्सल्टिङ प्रालि भारत र नमस्ते ग्लोबल कम्युनिकेसन सिंगापुरको ज्वइन्ट एडभेन्चरलाई छनोट गरेको हो।

प्राधिकरणका अनुसार ती कम्पनीलाई एडीएमएस लागु  गराउन आफ्नै कोषमार्फत ७८ करोड उपलब्ध गराइनेछ। प्राधिकरणले छ महिनाभित्र यो प्रणाली जडान गरेर लागु गर्नेगरी एक हप्ताभित्र सम्झौता गर्न लागेको हो।