रवीन्द्र मिश्रले केन्द्रीय सदस्यलाई पठाएको मार्मिक पत्रमा के छ ? - Himal Post Himal Post
  • १ माघ २०८१, मंगलवार
  •      Tue Jan 14 2025
Logo

रवीन्द्र मिश्रले केन्द्रीय सदस्यलाई पठाएको मार्मिक पत्रमा के छ ?



विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले केन्द्रीय सदस्यहरूलाई सम्बोधन गरेर पत्र पठाएका छन्।

अध्यक्ष मिश्रले गत चैत ५ गते केन्द्रीय सदस्यहरूलाई पठाएको पत्रमा ‘व्यक्तिलाई नहेरी सामूहिक र वृहत्तर लक्ष्य प्राप्तिका लागि केही कठिन निर्णय गर्नुपर्ने महशुस गरेको’ उल्लेख गरेका छन्।

‘अब व्यक्तिलाई नहेरी, सामूहिक र वृहत्तर लक्ष्य प्राप्तिका लागि केही कठिन निर्णयहरू गर्नु पर्ने महशुस गरेको छु। त्यसो गर्दा मेरो नेतृत्वमाथि विश्वास रहेन भने महाधिवेशनमा तपाईंहरूले मलाई सहजतापूर्वक नेतृत्वदायी भूमिकाबाट हटाउन सक्नुहुनेछ। त्यो म हाँसीहाँसी स्वीकार्नेछु,’ अध्यक्ष मिश्रले ‘पीडा, प्रेरणा र दृढता’ उल्लेख गर्दै केन्द्रीय सदस्यहरूलाई पठाएको पत्रमा उल्लेख गरेका छन्।

पछिल्लो समय पार्टीले लिने विचारमा मतभेद देखिएको थियो। उनले ‘पीडा, प्रेरणा र दृढता’ उल्लेख गर्दै केन्द्रीय सदस्यहरूलाई पठाएको पत्र यस्तो छ:

पीडा, प्रेरणा र दृढता

आदरणीय साथीहरू,

कोही पनि मानिस कमजोरीरहित हुँदैन। मलाई थाहा छ, म पनि कतिपय मानवीय कमजोरीभन्दा माथि छैन। मेरा ती कमजोरीहरू मैलेभन्दा बढी तपाईंहरूले देख्नुभएको छ। तर मैले मेरा कमजोरीका बाबजुद यो पार्टी बनाउन गत ५ वर्षदेखि दिलोज्यान दिएर इमानदारीपूर्वक काम गर्दै आएको छु।

पार्टी केन्द्रीय कार्यालय संचालन र कयौँ कार्यक्रम आयोजना गर्न खटेर अर्थ संकलन गरेको छु। यी दुबै पक्षमा अविचलित भई सहयोग गर्ने अनगिन्ती सहयात्री, साथी तथा सहृदयी शुभेच्छुकहरूलाई नमन गर्दछु, जसका कारण विविध प्रतिकूलतामाझ पनि मेरो उर्जा र दृढता कायम रहिरह्यो।

यसबीच, ममाथि पार्टीभित्र रहेका र पार्टी छोडेर गएका कयौँले सार्वजनिकरूपमा अत्यन्त भ्रामक, गलत र चरित्रहत्या गर्ने प्रकृतिका धेरै आरोप लगाए। मैले कहिल्यै ती आरोप लगाउनेहरू विरूद्ध कटाक्ष गरिनँ। तल्लो स्तरमा झरेर सबै आरोपको प्रतिवाद गरेर हिँड्ने मलाई कुनै रहर छैन। तर आज पार्टी निर्माणका मेरा केही पीडा र धारणाहरू केन्द्रीय समितिका तपाईंहरू समक्ष राख्नै पर्छ भन्ने महशुस गरेको छु। बनाउनका लागि ‘धेरै’ चाहिने र विगार्न ‘थोरै’ भए पनि पर्याप्त हुने रहेछ। धेरैले साथ दिँदादिँदै यो पाँच वर्षमा थोरैबाटचाहिँ धेरै दु:ख पाएँ भन्दा फरक नपर्ला। त्यसैले, शुरूमैँ स्पष्ट पार्न चाहन्छु, तलका बुँदा र टिप्पणी सबैमा लागु हुँदैन।

हो, पार्टीभित्र अहिलेकै जस्तो प्रशस्त समस्या थियो। तर जति समस्या भए पनि सचिवालय र केन्द्रीय समितिबाट पद्धति मानेरै निर्णय गरिन्थ्यो। त्यति गर्दागर्दै आफूले भनेजस्तो भएन भनेर बैठक नै बहिष्कार गर्दै एउटा समूहले केन्द्रमा पार्टी नै फुटाइदियो।

सचिवालयमा एउटा निर्णय लिइन्थ्यो, आफूले भनेजस्तो निर्णय भएन भनेर सचिवालयकै सदस्य फेसबुकमा त्यसकाविरूद्ध गएर लेखिदिन्थे। अनि त्यसपछि बवण्डर सुरू हुन्थ्यो।

एकजना केन्द्रीय सदस्य हुनुहुन्थ्यो। ३४ जना केन्द्रीय सदस्य सबैलाई ४/४ महिना संयोजक बनाऊँ” भन्ने प्रस्ताव राख्नुहुन्थ्यो। एकपटक मैले उहाँलाई सोधेँ, “तपाईंको व्यवसाय सञ्चालन गर्नचाहिँ अनुभवी र क्षमता भएको व्यक्ति चाहिने, पार्टीचाहिँ जसले चलाए पनि हुने?” उहाँको जवाफ थियो, “त्यस्ता नयाँ तरिकाहरू अवलम्बन नगरे, कसरी वैकल्पिक भइन्छ?”

कतिले आफूले ल्याएको प्रस्ताव केन्द्रीय समितिमा अस्वीकार भयो भनेर पार्टी छोडिदिए। कसैले सार्वजनिक कार्यक्रममा बोल्ने सूचीमा आफू परिएन भनेर पार्टी परित्याग गरिदिए। कतिले मागेको पद पाइएन भनेर पार्टी छोडिदिए। पार्टीले छिटै केही गरिहाल्छ कि र राजनीतिमा सफल भइहालिन्छ कि भनेर जोडिएकाहरू यात्रा कठिन हुने देखिने वित्तिकै बाहिरिए।

केन्द्रीय समितिमै कयौँ साथीहरू यस्ता थिए जो पार्टीको बैठक बिदाको दिन मात्र बसोस् भन्ने चाहन्थे। वैकल्पिक पार्टी भनेको सबै काम सकेर बाँकी रहेको फुर्सदको समय दिनु हो भन्ने उनीहरूको बुझाइ थियो। नसकेको समय दिनै पर्छ भनेर हामीले कहिल्यै भनेनौं तर पार्टीको केन्द्रीय समितिमा फुर्सदको समयमात्र दिएर पार्टी चाहिँ नबन्ने रहेछ भन्ने बुझ्यौँ।

आफ्नो जिम्मेवारीको काम ज्यान गए नगर्ने तर अरूको जिम्मेवारीबारे सधैँ प्रश्न गर्ने त आम नेपाली चरित्र भइहाल्यो। पार्टी सञ्चालन गर्न पैसा दिने, संकलन गर्ने या समय दिने कुरा आयो कि ‘चुप’, राजनीतिक विचारको कुरा आयो कि ‘उग्र’ हुने समस्याबाट पाँच वर्षमा पनि मुक्ति पाउन सकिएन। हामी कुरा बढी, काम कम गर्ने समाज भएर पनि होला देशको हाल यस्तो भएको।

एउटा समूहले आफूले चाहेको विषय पारित हुन्छ भन्दा प्रक्रियामा जाऊँ भन्यो र आफूले चाहेजस्तो परिणाम नआउने भएपछि प्रक्रिया नै बहिष्कार गरेर पार्टी र नेतृत्वलाई सार्वजनिकरूपमै यति हिलो छ्याप्यो कि शुभेच्छुक र हामीलाई नजिकबाट नियालीरहेकाहरूको बुझाइमा यो पार्टी रसातलमै पुगेको हो कि भन्ने भान पार्ने स्थिति बनाइदियो।

प्रक्रिया अनुरूप नै निर्णय लिँदा पनि आफूले चाहे अनुरूपको नतिजा नआएपछि केही व्यक्तिले हप्तौँसम्म पार्टीमा अंकुश लगाई पार्टीलाई पूर्णत: अवरूद्ध बनाइदिए।

गत केन्द्रीय समितिको बैठकमा बहुमतले महाधिवेशन चाहेकोले महाधिवेशनमा जाने निर्णय गरियो। त्यसपछि सुदूरपश्चिम र लुम्बिनी प्रदेशबाट महाधिवेशन सार्न आग्रह आयो। नयाँ एकीकरण भएका धेरै साथीहरू पनि आफूहरू राम्ररी ‘घुलित’ नै हुन नपाएकोले महाधिवेशन सारौँ नै भन्ने पक्षमा देखिनुभयो। दुई/दुईवटा प्रदेशले स्थानीय तहको निर्वाचनअघि महाधिवेशन गर्न नसक्ने भन्दाभन्दै र भर्खरै एकीकृत साथीहरूको अनिच्छा हुँदाहुँदै, हाम्रो पार्टी त्यति बलियो भइसकेको छैन कि केन्द्रले गरेको निर्णय बाध्यात्मक बनाउन सकियोस्।

यीलगायत अन्य कतिपय कारणले गत केन्द्रीय कार्यसम्पादन समितिको बहुमतले महाधिवेशन स्थानीय निर्वाचनपछि नै सार्नु पर्ने निर्णय गर्यो। वैशाख ३० गतेको स्थानीय निर्वाचनपछि नै गर्नु उपयुक्त हुने बहुमतको राय रहेपछि बैठकको अध्यक्षता गरिरहेको मैले “त्यसो हो भने निर्वाचनपश्चात असारको मध्यसम्ममा गरिसकौँ” भन्ने प्रस्ताव राखेँ। तर अत्यन्त दु:खका साथ भन्नुपर्छ, केन्द्रीय कार्यसम्पादन समितिको बहुमतको निर्णयलाई “महाधिवेशन सार्ने निर्णय अध्यक्षको थियो” भन्ने भ्रम व्यापकरुपमा फैल्याइयो।

माथि उल्लेख गरिएका केही प्रतिनिधिमूलक घटनामात्र हुन्। ती घटनाहरूबारे उल्लेख गरेर मैले तपाईंहरूलाई तर्साउन खोजेको होइन। जटिलतालाई औँल्याउनमात्र खोजेको हुँ। यो पत्र केन्द्रीय समितिबाट अन्य सदस्य साथीहरूसम्म पुग्यो भने उहाँहरूलाई पनि चिन्ता नलिन आग्रह गर्दछु। सबै पार्टीहरूभित्र समस्या हुने गर्छन्। प्रकृति मात्र फरक हुने हो। र, राजनीतिक पार्टीको इतिहास पढ्ने हो भने पनि बेलाबखत पार्टी नेताले पार्टीको आन्तरिक जटिलताबारे यस्ता पत्र लेखेको अथवा त्यसबारे बोलेको पाइन्छ। यो पत्रलाई पनि तपाईंहरूले त्यही रूपमा लिइदिन आग्रह गर्दछु।

‍नेताका रूपमा माथि उल्लेखित परिस्थितिलाई व्यवस्थापन गर्न नसकेको भनेर तपाईंहरूले मलाई दोष दिन सक्नुहुन्छ। त्यो स्वीकार गर्छु। तर भर्खरै बन्दै गरेको पार्टीमा संवेदनशीलताहरू यति धेरै हुँदा रहेछन् कि पार्टीलाई पार्टीकै रूपमा जोगाउन पनि कयौँ संझौताहरू गर्नु पर्ने रहेछ। केही गरौँ, पार्टी भताभुङ्ग होला भन्ने डर, नगरौँ, माथि उल्लेख गरिएका जस्ता परिस्थिति त कति व्योहोरियो, व्यहोरियो। कहिलेकाहिँ त हामीले ५ वर्षसम्म विविध प्रतिकूलतामाझ जसरी पार्टी जोगायौँ र देशव्यापी परिचय बनायौँ, त्यो नै पनि ठूलो उपलव्धी रहेछजस्तो लाग्छ।

दशकौँ लामो इतिहास भएका ठूलो पार्टीले माथि उल्लेख गरिएका जस्ता र त्योभन्दा धेरै गम्भिर प्रतिकूलताहरू थेग्न सक्ने रहेछन्। तर हाम्रोजस्तो पार्टीमा त्यो संभव नहुने रहेछ। सँगसँगै, पुराना पार्टीहरू निर्माण हुँदा ती पार्टीका निर्माताले घर-परिवार, सम्पत्ति, ऐसआराम, खानपान, वृत्ति विकास केही भनेनन्। पछि ती विग्रिए, त्यो भिन्दै कुरा हो। अहिले त पुराना पार्टीका निर्माताहरूको जस्तो निष्ठा, त्याग र समर्पणको अंश पाउन नै गाह्रो भइसक्यो। राजनीति भनेको यस्तै हुने रहेछ भन्दै पदको लडाईं हुन्छ। अराजकता र अनुशासनहीनता छ।

ठूला पार्टीमा सम्भवत: ८० प्रतिशत राम्रा र २० प्रतिशत अति घातक चरित्र छन्। दुर्भाग्य, हाम्रो पार्टीमा ठूला पार्टीबाट सिक्नु पर्ने चरित्र भित्रिएन, नसिक्नु पर्ने चरित्र भित्रिए। पार्टीभित्र धेरै चरित्रवान, इमानदार, प्रतिवद्ध र समाज रूपान्तरणका लागि दृढ साथीहरू छन्। तर हरेक समाजमा थोरै तर चरित्रहीन, गैर-इमानदार र आत्मकेन्द्रीत व्यक्तिहरू हुन्छन्, जसले ‘असल’हरूलाई ओझेलमा पारिदिएका हुन्छन् र तिनै खराब प्रवृत्तिकाहरूसँग संघर्ष गर्दागर्दै समयले कोल्टे फेरी सक्छ।

तर एउटा कुराचाहिँ प्रष्ट पार्न चाहन्छु: नयाँ पार्टी निर्माण गर्ने अत्यन्तै कठिन राजनीतिक भूमरीमा प्रवेश गर्नुको मेरो उद्देश्य, हामी केन्द्रीय समितिमा भएका अधिकांश सदस्यजस्ता तुलनात्मकरूपमा भाग्यशाली नेपालीका लागि होइन। मेरो राजनीतिको केन्द्रमा मैले यो इमेल लेख्दै गर्दा कुपोषणले या भोकले ज्यान गुमाएका सिराहा, सप्तरी, सल्यान र जाजरकोटका बालबालिका छन्।

स्कुल पुग्न ३ घण्टा हिँड्नु पर्ने बालबालिका हुन् या दाल किन्न नसकेर सिलभरको थालमा पानी र भात मुछेर एक वर्षका छोराछोरीलाई खुवाउन बाध्य आमा हुन्; झुपडीलाई घर भनेर पुस्तौँदेखि बाँचेका विपन्न हुन् या भोकमा जलेर छोराछोरीसहित आत्महत्या गर्ने आमाबाबु हुन्, ती हुन् मेरो राजनीतिको लक्ष। मलाई केही चाहिएको छैन। भाग्यले मलाई पुग्ने गरी दिइसकेकोछ। सम्भवत: हामीमध्ये धेरैलाई भाग्यले धेरै दिएको छ। हामीले त्यसलाई विश्व गरिवीको तुलनात्मक परिप्रेक्षमा नहेरेका मात्र हौँ।

त्यही भावले जीवनको लामो समय परोपकारी गतिविधिमा बिताएँ तर त्यसले त सानोभन्दा सानो अंशलाई मात्र सम्बोधन गर्न सक्दो रहेछ भन्ने बोध भएपछि यो यात्रामा होमिएँ। यात्रा कठिन हुन्छ भन्ने थाहा थियो, तर यति धेरै प्रवृतिको यति छोटो समयमा यस्तरी सामना गर्नुपर्ला भन्ने चाहिँ लागेको थिएन।

म फेरि पनि भन्छु, मलाई लोकतन्त्र बाहेक अन्य ‘तन्त्रमन्त्र’ प्रति खास चासो छैन। लोकतन्त्रको धरातलमा यो देशको दूरगामी हित हुनुपर्यो र यो देशमा सम्मुन्नति छाउनु पर्यो। त्यसबाहेकका तन्त्रमन्त्र भाँडमेँ जाओस्। म राजनीतिक तन्त्रमन्त्रको विज्ञ नहुँला तर राजनीति शास्त्र पढेको पनि हुँ र त्यसको आधारभूत ज्ञान मलाई छ।

अंग्रेजीमा एउटा भनाइ छ: In the war of ideas, it’s people who get killed (विचारको द्वन्द्वमा मारिने भनेका मानिस हुन्)। हामी मारिएनौँ, हामी कमसेकम खान-बस्न सक्छौँ। तर विचारको द्वनद्वमा पिल्सिएर यो देशका लाखौँ नागरिक प्रत्यक्ष र अप्रत्यक्षरूपमा मरिसकेका छन्। विचारको द्वन्द्वमा यो देश चर्किएको सिसाजस्तो भइसक्यो। विदेशीको क्रिडास्थल भइसक्यो।

अबको दशकमा विश्व भूराजनीति चीन र भारतमा केन्द्रीत हुनेछ। हामी त्यसको बीचमा भूपरिवेष्टित छौँ। त्यसैगरी अबको दशकमा जलवायु परिवर्तन विश्व राजनीतिको केन्द्रमा हुनेछ।

विश्वका दर्जनभन्दा बढी उच्च हिमालहरू नेपालमैँ भएकोले जलवायु परिवर्तनको दृष्टिकोणबाट पनि नेपाल भूराजनीतिको केन्द्रमा हुनेछ। त्यो भूराजनीतिले नेपाललाई राम्रैसँग गाँजीसकेको छ र त्यसले समयक्रममा जातीय, धार्मिक र क्षेत्रीय सौहर्दतामा पनि आँच पुर्‍याउनेछ। सामाजिक र भूराजनीति असरहरू नेपालमा मजैले देखिन थालिसकेका छन्।

भूराजनीतिको भूमरी झनझन कडा र नेपालको स्वाभिमान र संस्थाहरू झनझन क्षयीकृत हुँदै गएको परिप्रेक्षमा “विचारभन्दा माथि देश” दस्तावेज ल्याइएको हो, जसका मूल प्रस्तावहरू धेरै नेता र आम सदस्यको चाहना थियो। त्यो दस्तावेज केन्द्रीय समितिमा अल्पमतमा पर्न तयार भएर लेराइएको थियो। तर सौभाग्य भन्नुपर्छ, तपाईंहरू धेरैले साथ दिनुभयो र हामी अगाडि बढ्न सक्यौँ।

मलाई थाहा छ, त्यो दस्तावेज नल्याएको भए यति हंगामा हुने थिएन। सो दस्तावेजबाट पार्टीका कतिपय साथीहरू तथा शुभेच्छुकहरूलाई पर्न गएको असरप्रति म क्षमाप्रार्थी छु। तर के हाम्रा कल्याणकारी लोकतन्त्र र ‘डेलिभरी’का मुद्दाहरू मात्र उठाएर यो देशको हित हुन्थ्यो? सामाजिक र भूराजनीतिकरूपमा पर्दै गएको घातक असरलाई समयमैँ सम्वोधन नगर्ने हो भने कल्याणकारी लोकतन्त्र र ‘डेलिभरी’को राजनीति दिवास्वप्न हुनेछ। सामाजिक र भूराजनीतिकरूपमा अस्थिर देशमा अर्थ-राजनीतिक एजेण्डा लागू हुनै सक्दैन। आउँदो पुस्ताको हालत हाम्रोभन्दा राम्रो हुने छैन। बरू, अझ विग्रिने संभवाना प्रवल छ।

बिहान पूजाकोठामा एक घण्टा ईश्वरको आराधना गरेर, पाँचतारे होटेलमा देश विकासको आदर्श छाँटेर, जनताका अगाडि तपाईंहरूकै लागि राजनीति गरेको हो भन्ने भाषण दिएर, हरेक दिन भ्रष्टाचार गर्ने, देश दोहन गर्ने, कर छल्ने, पद र पैसाका लागि मरिमेट्ने, आफैँलाई केन्द्रमा राखेर सबै विश्लेषण गर्ने र निर्णय लिने बुज्रुकहरूको समाजमा संभवत: मेरो शैलीको राजनीति काम नलाग्न पनि सक्छ। नलागोस्। लागेन भने पनि तपाईंहरूले पार्टीलाई पुनर्जीवन दिनु नै हुनेछ। भोली त्यसले देश र समाजको हित गर्ला या नगर्ला त्यो वेग्लै कुरा हो। तर मेरो दृष्टिकोणबाट जे गर्दा देशको हित हुन्छ भन्ने लाग्छ त्यसबाट म एक इन्च पनि डगमगाउने छैन। मलाई, मेरै दृष्टिकोणबाट, देश विगार्ने अर्को पार्टी बनाउनु छैन।

यति लेखेर मैले मेरो नेतृत्वको बचाउ गर्न खोजेको होइन। मैले सुरूमैँ लेखिसकेँ, मेरा आफ्ना कमजोरी मैलेभन्दा बढी तपाईंहरूले देख्नुभएको छ। यद्दपी, सानो पार्टी हुनाले व्यक्ति-व्यक्तिलाई मिलाउन खोज्दा पनि धेरै गाह्रो भएको अनुभूति हुन्छ।

तसर्थ, अब व्यक्तिलाई नहेरी, सामूहिक र वृहत्तर लक्ष्य प्राप्तिका लागि केही कठिन निर्णयहरू गर्नु पर्ने महसुस गरेको छु। त्यसो गर्दा मेरो नेतृत्वमाथि विश्वास रहेन भने महाधिवेशनमा तपाईँहरूले मलाई सहजतापूर्वक नेतृत्वदायी भूमिकाबाट हटाउन सक्नुहुनेछ। त्यो म हाँसीहाँसी स्वीकार्नेछु।

मेरो चुनावताका मैले भाषणको अन्त्यमा धेरै पटक एउटा वाक्य दोहोर्याएँ, म मान्छु हुँ गल्ती गरूँला तर बेइमानी गर्दिन, यो देशलाई घात गर्दिनँ। आज पनि म त्यही कुरामा दृढ छु। मेरो अर्जुनदृष्टी, इमानदारी र राष्ट्रहितको धरातल नगुमाइकन जसरी हुन्छ एउटा त्यस्तो पार्टीको निर्माणमा योगदान पुर्याउनु हो जसले नेपाली राजनीतिको हस्तक्षेपकारी विन्दूमा पुगेर देशको दूरगामी शान्ति, स्थिरता, सम्मान र सार्वभौमिकताको रक्षा गर्न सकोस्। सेवामुखी अर्थ-राजनीतिक एजेण्डा लागू गर्न सकोस्।

तर नबिर्सिनु होला, जोसुकै नेतृत्वमा आए पनि यो समाजका नकारात्मकता चिर्न सजिलो छैन। यहाँ देश बदल्छु भनेर हिँडेकाहरू धेरै, इमान गुमाएर आफैँ बदलिएका छन् र दुषित बनेका छन्। त्यो स्थिति आउन नदिन सचेत रहनुहोला। यो मेरो मित्रवत् सल्लाह हो। अबको दुई महिना हामी स्थानीय चुनावमा केन्द्रीत हुनेछौँ। छिटै केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेर स्थानीय चुनावका लागि गर्नु पर्ने कार्यहरू गर्नेछ।

तपाईंहरूप्रति सधैँ आभारी रहने छु। मैले अलि बढि नै लेखेको रहेछु भने पनि क्षमा गरिदिनुहोला। कहिलेकाहिँ, कतिपय साथीहरूलाई जस्तै मलाई पनि पीडा पोख्ने ठाऊँ चाहिन्छ। तपाईंहरू सबैको जय होस्, नेपालको जय होस्।

स-श्रद्धा

रवीन्द्र मिश्र