रवीन्द्र मिश्रलाई ठुलो धक्का- मिलन पाण्डे समूहले गठबन्धनबाट चुनाव लड्ने - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

रवीन्द्र मिश्रलाई ठुलो धक्का- मिलन पाण्डे समूहले गठबन्धनबाट चुनाव लड्ने



विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई थप धक्का लाग्ने भएको छ । उक्त पार्टीबाट कारबाही गरिएका मिलन पाण्डे समूहले गठबन्धनबाट स्थानीय चुनावमा उम्मेदवारी दिने भएको छ।

विवेकशील साझा पार्टीका तत्कालीन संयोजक रहेका पाण्डेलाई पार्टीले साधारण सदस्य पनि नरहने गरी निस्कासन गरेको थियो।

विवेकशील साझामै रहेका पाण्डे पक्षका नेताहरू विवेकशील साझा गठबन्धनबाट चुनाव लड्ने तयारीमा छन्।

नेता हरिशप्रसाद भट्टका अनुसार विवेकशील साझा गठबन्धनले एक दर्जनभन्दा बढी जिल्लामा स्थानीय तह निर्वाचनका बेला उम्मेदवारी दिने तयारी गरेको छ।

उक्त गठबन्धनले चुनाव चिन्ह दुई वटा पैताला (पाइला छाप) समेत दर्ता गरिसकेको भट्टले बताए।

वैकल्पिक राजनीति जोगाउने र पुनर्गठन गर्दै यसलाई सुदृढ गर्ने प्रयास स्वरूप युवाहरूले गठन गरेको ‘साझा पार्टी’ सँग गठबन्धन गर्दै ‘विवेकशील साझा गठबन्धन’ मार्फत् वैकल्पिक राजनीतिमा छुटेकाहरू एकजुट हुन लागेको उनले बताए।

साथै फरकफरक दल र समूहमार्फत् राजनीति गर्दै आएका पार्टी तथा समूहलाई एक ठाउँमा ल्याउने पहल गर्ने पनि उनको भनाइ छ। विचार र मूल्यमान्यता मिल्ने पार्टी र राजनीतिक समूहहरूसँग पनि संवाद अघि बढाउने गठबन्धनको निर्णय छ।

साथै विवेकशील साझा पार्टीको आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको उनले बताएका छन्।

विवेकशील साझा पार्टीको मूल-बाटो समूह भन्दै उनीहरूले सर्वोच्चले मुद्दा अन्तिम फैसला नगरेसम्म कानुनी लडाइँ जारी राख्ने पनि बताएका छन्।

अध्यक्ष रवीन्द्र मिश्र पक्षले एकलौटी गरेको भन्दै पाण्डे पक्ष सर्वोच्च पुगेको थियो।