मृगौला दिवस : जान्नुहोस आफ्नो मृगौला जोगाउने उपाय ! - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

मृगौला दिवस : जान्नुहोस आफ्नो मृगौला जोगाउने उपाय !



……डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य बिज्ञ

श्याम थापा ( नाम परिवर्तन ), बर्ष ३५ लाई एकदम थकाइ लाग्ने, कमजोर महशुष हुने, निद्रा कम हुने, पिशाब फेर्दा फिंज देखिने, धेरै जाडो लाग्ने , सास फेर्न गाह्रो हुने, शरिर चिलाउने, खानाको स्वाद मेटल जस्तो लाग्ने, पिसाब गाढा देखिने / कहिलेकाँही रगत पनि मिसिने, पेट खराब भइरहने, आँखाको डिल तथा अनुहार हल्का सुन्निने, खुट्टामा हल्का सुन्निनेजस्ता सामान्य लाग्ने समस्या देखिए । उनले फार्मेसीबाट औषधि किनेर खाए तर समस्या घटेन । त्यसपछि उनी स्वास्थ्य जांच गराउन गए । डाक्टरले लेखे बमोजिम रगत, पिशाब र पेटको अल्ट्रासाउण्ड गरे । जब उनी रिपोर्ट लिएर डाक्टरलाई भेटे उनी छाँगाबाट खसेजस्ता भए । उनका दुवै किड्नी फेल भएका रहेछन । डाक्टरले किड्नी अस्पतालमा रिफर गरे । किड्नी अस्पतालमा उनको अरु जांच गरेपछि उनलाई भनियो – तपाइले नियमित रुपमा औषधि खाने, डाइलाइसिस गर्ने तथा मृगौला प्रत्यारोपणको तयारी गर्नुपर्छ, अन्यथा जीवन निकै छोंटो हुनेछ ।

अस्तिसम्म आरामको जीवन बिताएका उनको धरती भासियो । खुसी, आशा तथा उमंगका रंगहरु उडेर गए । साना छोराछोरी तथा परिवारको चिन्ताले उनी थप निरास भए । उनको आर्थिक अवस्था काम गरेर खाने स्तरको थियो ।

डाक्टरसंग कुरा गर्दा उनलाई आफ्नो गलत जीवनशैली थाहा भयो । तर, समयको ट्रेन धेरै अघिं बढिसकेको थियो ।

उनको रक्सी, सुर्ती, चुरोट खाने बानी थियो । उनले ब्लड प्रेसर तथा सुगर कहिल्यै जांच गराएनन् । प्रेसर तथा सुगर निकै बढेको रहेछ । उनले पानी निकै कम खाने गर्दथे, काम गर्दा पिशाब च्यांप्ने बानी थियो । खाजामा दालमोठ, चाउचाउ लगायतका सुक्खा तथा नुनिला जंक फुड खाने बानी थियो । व्यायाम, सागसब्जी तथा फलफुलमा उनको रुचि थिएन । मासुका भने सौखिन थिए । टाउको, ढाड, कम्मर आदि दुखेको बेला कडा पेन किलर तथा अन्य बिरामी हुँदा अनाबश्यक एन्टिबायोटिक खाने गर्दथे ।

यदि उनले दिनको ४/५ लिटर पानी पिएको भए, बर्षको २/३ पटक प्रेसर, सुगर जांच गरेर नियमित औषधि खाएको भए, ३० रुपियामा हुने पिशाब चेक गरेको भए, रगतमा युरिया / क्रेटीनिन जस्तो खर्च कम हुने जांच गरेको भए, बर्षको एकपटक पेटको अल्ट्रासाउण्ड गरेको भए, खानपिन तथा जीवनशैली परिवर्तन गरेको भए आज उनी कलिलै उमेरमा जीवन र मरणको दोसाँधमा पीडित हुनुपर्ने थिएन ।

किड्नी फेल जुनसुकै उमेर र बर्गका व्यक्तिलाई जहिले पनि हुनसक्छ भन्ने तथ्य कहिल्यै नबिर्सौं । हाम्रो सानो साबधानी र स्वस्थ जीवनशैलीले किड्नी फेल हुनबाट बचाउँछ । हामीले महँगो उपचार गर्न नसके पनि रोगको रोकथाम गर्न सक्छौं ।