मिन विश्वकर्मा भन्छन्- एमसीसी छोडेर गठबन्धन जोगाउन सकिन्न - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

मिन विश्वकर्मा भन्छन्- एमसीसी छोडेर गठबन्धन जोगाउन सकिन्न



काठमाडौँ- नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले राष्ट्रिय सरोकारको विषय एमसीसी परियोजनालाई यथास्थितिमा राखेर गठबन्धन जोगाइराखेमा जनताले सत्तारुढ दलहरूलाई नपत्याउने बताएका छन्।

राष्ट्रिय सरोकारको विषयलाई टुंगोमा पुर्याउनुपर्नेमा उनले जोड दिएका छन्। उनले गठबन्धनलाई जिवित राख्दै एमसीसी परियोजनाको विषयलाई टुंगोमा पुर्याउन चाहेको स्पष्ट पारे।

उनले भने, ‘राष्ट्रिय सरोकारका मुद्दाहरु चाहिँ यथास्थितिमा रहने, त्यो कुनैपनि निष्कर्षमा नपुग्ने, तर गठबन्धन चाहीँ जोगाइरहनुपर्छ अथवा गठबन्धन टुट्छ की, गठबन्धन बिग्रिन्छ की भनेर राष्ट्रिय मुद्दालाई यथास्थितिमा लथालिङ्ग छोडेर गठबन्धन जोगाइ राख्दाखेरी जनताले हामीलाई पत्याउँदैनन्। त्यसो भएको हुनाले जनताले पत्याउने गरी राष्ट्रिय, अन्तर्राष्ट्रिय समुदायले नेपाललाई पत्याउने गरी भूमिका निर्वाह गर्नु भनेको राष्ट्रिय पेचिला मुद्दाहरूलाई, राष्ट्रिय सरोकारका मुद्दाहरूलाई टुंगोमा पुर्याउनु हो।’

राष्ट्रिय सरोकारका विषयलाई पन्छाएर गठबन्धन जोगाउन तर्फ कांग्रेसको चासो नरहेको नेता विश्वकर्माले बताए। उनले कुनै न कुनै गठबन्धनबाट भएपनि मुलुकको राजनीतिलाई निकास दिनुपर्ने बताए।

‘हामी गठबन्धनलाई पनि जिवित राख्दै, गठबन्धनलाई क्रियाशील राख्दै, गठबन्धनलाई साथसाथै लिएर जाँदै यि मुद्दाहरु टुंग्याउन चाहान्छौँ। तर कथम् कदाचित् यि मुद्दाहरूलाई पन्छाएर गठबन्धन जोगाऔँ भन्यो भने हाम्रो त्यतातिर खासै चासो रहँदैन’ उनले भने, ‘ त्यसो भएको हुनाले एक्लैले त कुनैपनि सरकार बन्दैन। एक्लै दलको बन्दै बन्दैन यतिबेला निर्वाचन अगाडि। त्यसैले कुनै न कुनै गठबन्धनबाट भएपनि मुलुकको राजनीतिलाई निकास दिनुपर्छ। मुलुकका राष्ट्रिय सरोकारका विषयहरुलाई निकास दिनुपर्छ। हामी त्यो बारेमा पनि सोच्दैछौँ।’

एमसीसी परियोजनासँग संलग्न राजनीतिक दलहरुले नै गलत प्रचारबाजी गरि भ्रम सिर्जना गराएको उनले बताए।

उनले भने, ‘राजनीतिमा यस्तो बेइमानी र बठ्याइँ नहुनुपर्ने हो। आफैँले प्रयास गरेर, आफैँले मागेर आफैँ प्रक्रियामा सामेल भइसकेपछि आएको परिणाममा यसरी विमति र फरक फरक विचारधारा प्रस्तुत गरेर राष्ट्रिय राजनीतिको परिधिभित्र मात्रै छु भनि महशुस गरी अन्तर्राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धलाई समेत पनि अप्ठ्यारो पार्ने गरी जसरी यो विषय गिजोलियो, यो विषयलाई यसरी गिजोल्नु हुँदैन थियो।’

उनले नेपाली कांग्रेसकै नेतृत्वमा निर्वाचन सम्पन्न होस् भन्ने कुरामा प्रमुख प्रतिपक्षी दल र सरकारमा सम्वद्ध दलहरु पनि सन्तुष्ट रहेको बताए।

(न्युज एजेन्सी नेपालसँगको कुराकानीमा आधारित)