डेरी संघका अध्यक्ष : युरियाले स्वास्थ्यमा असर गर्दैन - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

डेरी संघका अध्यक्ष : युरियाले स्वास्थ्यमा असर गर्दैन



काठमाडौँ । गाईको घाँस र दानामा रहेको युरिया मलको केही मात्रा दुधमा देखिएपछि दुध उत्पादकहरुको छाता संगठन, डेरी उद्योग संघले दुधमा युरिया मललगायतका अखाद्य बस्तु नमिसाइएको दावी गरेको छ ।

सोमबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको छलफलमा डेरी उद्योग संघका पदाधिकारीले दुध तथा दुधजन्य बस्तुमा युरिया मल लगायतका अखाद्य बस्तु नमिसाइएको दावी गरेको हो ।

संघका अध्यक्ष अरनिको राजभण्डारीले गाईको घाँस र दानामा रहेको युरिया मलको केही मात्रा दुधमा पनि देखिएको दावी गरेका हुन् । उनले केही मात्रामा देखिएको युरिया मलले मानव स्वास्थ्यमा प्रतिकूल असर नपार्ने तर्क समेत गरे ।

बाहिरबाट निर्यात गरिएका दुध पाउडर पनि मापदण्ड विपरित नरहेको दावी संघले गरेको छ । चेकजाँच गरेर मात्रै खरिद गरिएको दुध पाउडर मापदण्ड विपरित रहेको भन्न नमिल्ने डेरी संघका अध्यक्ष राजभण्डारीको तर्क छ । २ वर्ष भित्र आचारसंहितानै बनाएर पालना गरेर दुध डेरी पसललाई व्यवस्थित बनाउने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पनि दुधमा मिसावट देखिएको भन्दै त्यसलाई व्यवस्थित बनाउन आवश्यक आचारसंहिता निर्माणको कामलाई पनि अघि बढाएको जनाएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले दुध तथा दुधजन्य बस्तुमा मानव स्वास्थ्य प्रतिकूल हुनेगरी मिसावट भेटिएको दावी गर्दै त्यस्ता दुध डेरीलाई कार्वाही गर्ने चेतावनी दिँदै आएका छन् ।

खनालकै नेतृत्व नेतृत्वमा १५ दिनअघि (जेठ २८) संकलन गरिएका ४२ वटा दूधका नमुनामध्ये ३३ वटामा हानिकारक जीवाणु फेला परेको हो । मन्त्रालयद्वारा जारी रिपोर्टअनुसार आधुनिक डेरी बालाजु (आधुनिक), गल्फु विनायक डेरी काभ्रे (अलिसाज), आकृति दुग्ध तथा कृषि बालकोट (अनमोल), जयश्री डेरी काभ्रे (अपर्ण), भक्तपुर डेरी भक्तपुर (भक्तपुर), चौधरी डेलिसियस मिल्क एन्ड वेभरेज (एचडीआई नीलोररातो), हिमालय डेरी लगनखेल (डेली यूएचटी), दुग्ध विकास संस्थान (डीडीसी काउरक्रिमरस्ट्याडर्डरटि मिल्क)का दूधमा कोलिफर्म जीवाणु पाइएको छ ।