पुनर्वासका मेयरका छोराद्वारा फिल्महल सञ्चालकमाथि कुटपिट
रञ्जित लामा /पुनर्वास, कञ्चनपुर ।
कञ्चनपुरको पुनर्वासका मेयरका छोराद्वारा फिल्महल सञ्चालकमाथि शुक्रबार कुटपिट भएको छ ।
पुनर्वासका मेयर जीवनराज थापाका माइला छोरा देबेन्द्र थापा लगायतका एक समूहद्वारा फिल्महल सञ्चालक रविन्द्र बिश्वकर्मामाथि कुटपिट भएको हो ।
एक जनाको टिकटमा अन्य ५/६ जनालाई फिल्म हलमा निःशुल्क प्रवेश दिनु प¥यो भन्दै मेयरका छोरा थापा लगायत ६/७ जना दादागिरी शैलीमा आएर आफुलाई कुटपिट गरेको फिल्महल सञ्चालक विश्वकर्माले दुःखेसो पोखे ।
“तिनीहरुलाई हलमा प्रवेश निषेध गर्न खोज्दा, “म को हँु थाहा छ ? मेयरको छोरो हुँ” भन्दै उनीहरु ममाथि खनिए ।’ उनले भने ‘सत्ता र शक्ति छ भन्दैमा जसलाई जे गर्दा नि हुन्छ र ?’ ‘आफ्नो ब्यबसायसमेत चौपट भएको छ, करिब दुई सय पचास जना जति दर्शक झगडाकै कारण फिर्ता भएका छन् ।’ फिल्म हल सञ्चालक विश्वकर्माले भने – ‘आज ममाथि आक्रमण भएको छ, भोलि अर्कोमाथि पनि हुनसक्छ, दोषी उपर कानून बमोजिमको कारबाही हुनैपर्छ ।’
टिकटको विषयमा विवाद चुलिएपछि करिब साँढे आठ बजेतिर पुनर्वास–६, स्थित पूर्र्णलक्ष्मी चलचित्र मन्दिरको परिसर भित्रै थापा र विश्वकर्माबीच कूटपिटको अवस्था सृजना भएको अस्थायी प्रहरी पोष्ट आई.बी.आर.डी.का इन्चार्ज प्रहरी सहायक निरीक्षक खड्कजङ्ग शाहीले बताए । ‘चोट दुबै पक्षलाई लागेको र दुबै पक्षबाट इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा निवेदन दर्ता भएको छ’ प्रहरी सहायक निरीक्षक शाहीले भने ‘फिल्म हल सञ्चालक विश्कर्माको निधारमा भने चार ओटा टाका लागेको छ ।’
इलाका प्रशासन कार्यालयमा समेत कार्यरत् पुनर्वासकै एक जिम्मेवार व्यक्तिको रुपमा रहेका मेयरका छोराले अरुले गलत गर्दै छ भनेपनि आफुले मिलाउनु पर्ने ठाउँमा उल्टै गुण्डागर्दी तरिकाले गाउँले केटा परिचालन गरी कुटपिटको पाटोमा उत्रिनाले मेयर लगायत मेयरका छोराप्रति यतिखेर स्थानीयस्तरमा आलोचनाको घेरा ह्वात्तै बढेको छ ।