माधवको साथ छाडेका नेताहरू पनि पाँच दिनभित्र फर्कने - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

माधवको साथ छाडेका नेताहरू पनि पाँच दिनभित्र फर्कने



काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का नेता मेटमणि चौधरीले निर्वाचन आयोगमा दल दर्ता हुनेबित्तिकै आफ्नो पार्टी सरकारमा सहभागी हुने बताएका छन् ।

उनले माधवकुमार नेपालको साथ छाडेका भनिएका नेताहरू पनि अबको पाँच दिनभित्र आफूहरूकै पार्टीमा आउने दाबी समेत गरे ।

शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले भने, “म भन्न चाहन्छु– पाँच दिनभित्र सबैजना उहाँहरू नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)मा फर्कनुहुन्छ । निर्वाचन आयोगले ९ गते सनाखतका लागि बोलाएको छ । त्यसपछि दल दर्ताको प्रमाणपत्र प्राप्त हुन्छ । हामी सरकारमा जाने ढोका खुल्छ ।”

नेकपा (एमाले)ले मुलुकको कुनै पनि समस्या समाधान गर्न नसक्ने निष्कर्षमा पुगेपछि आफूहरूले नयाँ पार्टी स्थापना गर्नुपरेको जिकिर उनले गरे ।

कार्यक्रममा बोल्दै नेकपा (एमाले)का नेता एवम् प्रदेश नम्बर–१ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले पार्टीमा फर्कन नेकपा (एकीकृत समाजवादी)का नेताहरूलाई आग्रह गरे । त्यसका लागि अध्यक्ष केपी शर्मा ओली १० बुँदे सहमति कार्यान्वयन गरेर अघि बढ्न तयार रहेको उनको भनाइ थियो ।

नेता ठाकुर गैरेले पार्टी एकताका लागि १४ जना सांसदहरूमाथि गरिएको कारबाही तत्काल फिर्ता लिन अध्यक्ष ओलीलाई आग्रह गरे । उनले वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन आयोगमा दल दर्ताका लागि दिएको निवेदन फिर्ता लिनुपर्नेमा जोड दिए । उनले आफूहरू पार्टी एकताको पक्षमा उभिएको पनि पटक–पटक दोहोर्‍याए ।

नेता गैरेले दुईतिहाइ बहुमत प्राप्त सरकारबाट पार्टीलाई सडकमा ल्याउने काम नेतृत्वले गरेको भन्दै आक्रोशसमेत व्यक्त गरे ।