रोनाल्डोसँग युभेन्टस जाने मेस्सीको तयारी - Himal Post Himal Post
  • १८ माघ २०८२, शनिबार
  •      Sat Jan 31 2026
Logo

रोनाल्डोसँग युभेन्टस जाने मेस्सीको तयारी



एजेन्सी- बार्सिलोनामा लियोनेल मेस्सीको भविष्यबारे पुनः विभिन्न आशंकाहरु उत्पन्न भइरहँदा उनी पूर्वप्रशिक्षक पेप ग्वार्डिओलासँग म्यान्चेस्टर सिटीमा आबद्ध हुनसक्ने क्लबका पूर्व खेलाडी रिभाल्डोले बताएका छन् । स्पेनिस रेडियो काडेना एसईआरले बिहीबार एक रिपोर्ट प्रशारण गर्दै मेस्सीले आफ्नो करार पूरा गर्दै सन् २०२१ मा क्लब छाड्ने दाबी गरेको थियो ।

क्लबमा विवाद चलिरहे पनि तत्काल मेस्सीले क्लब छाड्ने सम्भावना न्यून रहेको छ । तर, यदी उनले सो निर्णय लिए, उनलाई भित्र्याउन विश्वका धेरै क्लबहरु इच्छुक हुने छन् ।

यसअघि पनि मेस्सी म्यान्चेस्टर सिटी जान्ने हल्ला चलेको थियो र बार्सिलोनाका पूर्वखेलाडी रिभाल्डो पनि मेस्सी सजिलै प्रिमियर लिग जान सक्ने बताउँछन् ।

‘यदी उनले क्लब छाड्ने बारेमा सोचिरहेका छन् भने बार्सिलोनाको ड्रेसिङ रुममा पक्कै पनि केही कुरा सही भइरहेको छैन । हुनसक्छ पछिल्ला महिनाहरुदेखि क्लबमा मडारिरहेको समस्याबाट उनी वाक्क भएका छन्,’ बेटफेयरसँग कुरा गर्दै रिभाल्डोले भने ।

‘मेस्सीको करार सकिँदा उनी ३४ वर्षको हुनेछन् । तर, उनको क्षमताले उनी सजिलै प्रिमियर लिगमा खेल्न सक्नेछन्,’ उनले भने, ‘उनले बार्सिलोना छाडेको हेर्नु निकै दुःखद हुनेछ । अझै आशा गरौँ उनी क्लबमा नै रहनेछन् ।’

‘यदी क्लब छाड्ने नै भए भने उनले पूर्वम्यानेजर पेप ग्वार्डिओलासँग सिटीमा पुनर्मिलन गर्न सक्नेछन् किनभने बार्सामा छँदा उनीहरुको साझेदारी निकै उत्कृष्ट थियो ।’

उनले मेस्सीका लागि अर्को सम्भावित गन्तव्य युभेन्टस पनि हुनसक्ने बताए । क्रिस्टियानो रोनाल्डो र मेस्सीलाई एकै क्लबबाट खेलेको हेर्ने फुटबल प्रेमीहरुको सपना टुरिनमा पुरा हुनसक्ने उनको भनाइ छ । अथवा सन् २०२१ मा ३६ वर्ष पुग्ने रोनाल्डोको स्थानमा युभेन्टसमा मेस्सी पुग्न सक्छन् ।

‘आशंकाका बीच केही एजेन्टहरुले युभेन्टसमा मेस्सी–रोनाल्डोको जोडीको कल्पना गर्न थालिसकेका होलान्,’ उनले भने, ‘यदी यो पूरा भयो भने विश्वमा ठूलो हलचल हुनेछ । युभेन्टसलाई मेस्सीमा गरेको लगानी उठाउन धेरै समय पनि लाग्ने छैन ।’

‘दुवै खेलाडी सँगै खेलेको पल ऐतिहास हुनेछ । मलाई लाग्छ युभेका स्पोन्सरहरुले पनि यो सपना पूरा गर्न सहयोग गर्नेछन्,’ उनले भने, ‘विगत एक दशकदेखि विश्वका दुई उत्कृष्ट खेलाडीलाई सँगै खेलेको हेर्न पाउनु ठूलो उपलब्धि हुनेछ ।’