मेस्सी र रोनाल्डो दुबैको कन्तबिजोग ! - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

मेस्सी र रोनाल्डो दुबैको कन्तबिजोग !



क्लब फुटबलमा दुवै ‘स्टार’ हरुको चमक लेश मात्र पनि कम भएको देखिँदैन वा छैन । बढ्दो उमेरमा पनि दुवै महारथी चुस्त देखिन्छन् । उनीहरुको खेल कौशलले विश्वका फुटबल प्रेमीलाई रोमान्चित बनाउन छोडेको छैन ।

क्लबलाई अत्यावश्यक परेका बेला जादुयी प्रदर्शन गर्ने गुण उनीहरुमा छ । कम्तिमा यो शताब्दीका दुई महान फुटबल हस्ती क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीको कुरा क्लब फुटबलमा जति चहकिलो छ त्यति चम्किलो राष्ट्रिय टिमको प्रदर्शनमा देखिएको छैन ।

व्यक्तिगत रुपमा उनीहरुले राष्ट्रिय टिमबाट पनि नराम्रो प्रदर्शन गरेका छैनन् तर क्लब फुटबलको जस्तो लय कतै छुटेजस्तो देखिन्छ नतिजाहरुमा ।

९ महिनाअघि रुसमा भएको विश्वकप फुटबल पोर्चुगलका रोनाल्डो र अर्जेन्टिनाका मेस्सीका लागि विश्व विजेता बन्ने अन्तिम मौकाका रुपमा हेरिएको थियो ।

र यहि विश्वकपको नतिजाले रोनाल्डो भर्सेज मेस्सीको अन्तिम नतिजा निकाल्ने आश पनि थियो, किनकी विश्वभर फुटबल समर्थक पछिल्लो एक दशकदेखि रोनाल्डो महान कि मेस्सी भन्नेमा विभाजित छन् ।

तर विश्वकपले दुवै खेलाडीको सपना पूरा गर्न सकेन र रोनाल्डो भर्सेज मेस्सीको नतिजा पनि आएन ।

विश्वकपको अन्तिम १६ बाटै दुवै देश बाहिरिए, दुई महान खेलाडी बिहीन बन्यो विश्वकप अन्तिम ८ देखि । त्यसपछि क्लब फुटबलमा सक्रिय रहेका रोनाल्डो र मेस्सीले स्वयमलाई राष्ट्रिय टिमबाट पर राखे ।

यो बिचमा दुवै खेलाडीले सन्यास लिन सक्ने खबरहरु पनि आए । तर उनीहरुले त्यो संकेत दिएनन्, यो बिचमा दुवैले ६ वटा अन्तर्राष्ट्रिय खेलमा राष्ट्रिय टिमको प्रतिनिधित्व गरेनन् ।

शुक्रबार राति दुवै स्टार राष्ट्रिय जर्सीमा सजिए, आ–आफ्नो राष्ट्रिय टोलीको नेतृत्व गर्दै । राष्ट्रिय जर्सीबाट पर रहेका रोनाल्डो र मेस्सीले युरोकपको छनौट र मैत्रीपूर्ण खेल रोजे आफ्नो पुनरागमनका लागि । तर दुवै खेलाडी पुनरागमनको प्रभावशाली सन्देश दिनबाट भने चुके । राष्ट्रिय जर्सीको अर्को यात्राको सुरुवात दुवैका लागि सुखद रहेन ।

क्लब फुटबल र व्यक्तिगत रुपमा सम्भव भएका प्रायः सबै उपलब्धीबाट पर नरहेका रोनाल्डो र मेस्सी मैदान फर्किएको खेलमा एउटा गोलरहित बराबरीमा रोकियो भने अर्कोले ३–१ को हार बेहोर्न बाध्य भयो ।

रोनाल्डोका लागि राष्ट्रिय टिमबाट एउटा गर्व गर्न लायक उपलब्धी तीन वर्षअघि भएको थियो, उनको नेतृत्वमा पोर्चुगल पहिलो पटक महादेशीय च्याम्पियन बन्यो । फ्रान्सलाई हराउँदै युरोकप २०१६ को उपाधि जित्यो ।

साबिक विजेता पोर्चुगलले शुक्रबार रातिदेखि युरोकप २०२० को यात्रा सुरु गरेको छ । छनौट चरणको समूह बी मा रहेको पोर्चुगलले शुक्रबार राति लिस्बोनमा भएको पहिलो खेलमा युक्रेनसँग गोलरहित बराबरी खेलेको हो ।

रोनाल्डोले दुई सुन्दर प्रहार गरे तर त्यो गोलमा परिणत हुन सकेन । रोनाल्डोमा आफ्नो राष्ट्रिय टिमको पुनरागमनमा गोल गर्न नसकेको ‘फ्रस्टेसन’ देखिन्थ्यो ।

मेस्सीले पनि विश्वकपछि शुक्रबार राति नै पहिलो पटक राष्ट्रिय टिमको जर्सी लगाए । भेनेजुएलासँगको मैत्रीपूर्ण खेल रोजेका मेस्सीका लागि राष्ट्रिय टिमको पुनरागमन सजिलो रहेन । उनको टिम ३–१ ले पराजित भयो, उनले गोल गर्न सकेनन् । ग्रोइनमा पीडा भएका कारण उनी मोरक्कोसँगको खेलमा मैदानमा हुने छैनन् ।

मेस्सीका लागि राष्ट्रिय टिमको अनुभव रोनाल्डोको भन्दा पनि पीडादायक छ । दुई पटक महादेशीय प्रतिस्पर्धा (कोपा अमेरिका) को फाइनलमा पराजित हुनु र सन् २०१४ को विश्वकपमा पनि फाइनलमा पराजित हुनु मेस्सीका लागि दैलो अघि पुगेर घरमा पस्न नसक्नु जस्तै भयो ।

गएको वर्षको विश्वकपपछि रोनाल्डो र मेस्सीले राष्ट्रिय टिमबाट बाँकी रहेको उपलब्धी हाँसिल गर्ने प्रयास गर्दैनन् भन्ने धेरै थिए । दुवै खेलाडीले त्यसलाई गलत प्रमाणित गरेका छन् ।

३४ वर्षका रोनाल्डो र ३१ वर्षका मेस्सीले राष्ट्रिय टिममा पुनरागमन गरेर बाँकी रहेको कसर पूरा गर्ने प्रण गरेको देखाएका छन् ।

उनीहरुमा अझै बाँकी रहेको उपलब्धी हाँसिल गर्ने भोक बाँकी रहेको देखिएको छ । तर यो भोकले उनीहरुलाई कहाँसम्म लैजाने छ त्यो भने आउने दिनहरुले देखाउने छन् ।