मेस्सीले भने : अर्जेन्टिना हार्नुमा रेफ्रीको दोष हो - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

मेस्सीले भने : अर्जेन्टिना हार्नुमा रेफ्रीको दोष हो



एजेन्सी – कोपा अमेरिका २०१९ को सेमिफाइनलमा घरेलु टोली ब्राजिलले अर्जेन्टिनालाई २-० ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्यो । खेलपछि पत्रकारसँग बोल्दै अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सीले रेफ्रीले ब्राजिलको पक्ष लिएको अभिव्यक्ति दिए ।

राष्ट्रिय टोलीबाट लगातार असफल रहँदै आएका मेस्सी यसपटक कोपा अमेरिका उपाधिबाट राष्ट्रिय टोलीसँग उपाधि खडेरी तोड्ने लक्ष्यमा थिए । तर ब्राजिलले दुवै हाफमा १-१ गोल गर्दै अर्जेन्टिनाको यात्रा सेमिफाइनलमा नै सिमित पारिदियो । ब्राजिलको जितमा प्रिमियर लिगका दुई स्टार रोबर्टो फिर्मिनो र ग्याब्रीएल जेससले समान १-१ गोल र एक अर्कालाई असिस्ट दिए । यससँगै ब्राजिलले फाइनलमा चिली र पेरुको विजेतासंग खेल्नेछ ।

ब्राजिलविरुद्ध हारपछि आक्रोशित देखिएका मेस्सीले रेफ्रिका निर्णय ब्राजिलको पक्षमा रहेको आरोप लगाए । ‘ब्राजिल हामीभन्दा राम्रो खेलेको थिएन । उनीहरुले खेलको सुरुवातमै गोल गरे । तर दोस्रो गोल हुनुअघि हामीलाई पेनाल्टी दिनुपर्ने थियो जुन रेफ्रीहरुले ब्राजिलको पक्षमा निर्णय लिएका थिए,’ अगुएरोलाई पेनाल्टी क्षेत्रभित्र लडाएको घटना इंगित गर्दै मेस्सीले भने ।

‘रेफ्रीले हामीलाई सामान्य फलमा पनि कार्ड देखाए । कतिपय अवस्थामा भिडियो असिस्टेन्ट रेफ्रीको प्रयोग पनि गरेनन् । खेल अवधिभर यस्तै भयो । रेफ्रीले अधिकांश निर्णय पहिलो नजरमै ब्राजिलको पक्षमा दिए । यसले गर्दा हामीले खेलमा लय समात्न सकेनौं,’ मेस्सीले थपे ।

मेस्सीले दक्षिण अमेरिकी फुटबलको सर्वोच्च संस्था कन्मेबलले यसबारे गहन अध्ययन गर्नुपर्ने बताए । ‘ हामीले हारबाट बच्ने बाटो खोजेका हैनौं, तर यो खेललाई अध्ययन गर्न जरुरि छ । आशा छ कन्मेबलले यसलाई गम्भीरतापूर्वक लिएर उचित कदम चाल्नेछ,’ पराजित टोलीका कप्तान मेस्सीले टुंग्याए ।