मुसाको चुनौती थेग्लान मेस्सीले ? - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

मुसाको चुनौती थेग्लान मेस्सीले ?



काठमाडौं- यो भन्दा अघिल्लो ब्राजिलमा आयोजित विश्वकप फुटबल प्रतियोगिताको समूह चरणमा अर्जेन्टिना र नाइजेरियाले प्रतिस्पर्धा गरेका थिए। खेलमा अर्जेन्टिनानले नाइजेरियालाई ३ – २ गोलले पराजित गर्दै समूह विजेताको रुपमा अन्तिम १६ मा स्थान पक्का गर्‍यो।

हारका बावजुद नाइजेरियाले पनि अन्तिम १६ मा स्थान बनायो। त्यसबेला नाइजेरियाका लागि दुवै गोल अहमेद मुसाले गरेका थिए। अर्जेन्टिनाका लागि भने २ गोल मेसीले गरेका थिए भने एक गोल मार्कोस रोजोले गरेका थिए।

चार वर्षपछि फेरि दुई टिम आमनेसामने हुँदैछन्। मंगलबार समूह ‘डी’ को खेलमा अर्जेन्टिना र नाइजेरिया प्रतिस्पर्धा गर्न लागेका हुन्।

विशेषगरी खेललाई चार वर्षअघि एक-अर्को देश विरुद्ध २ – २ गोल गरेका मेसी र मुसाबीच प्रतिस्पर्धाको रुपमा हेरिएको छ। तर, अवस्था भने फरक छ। मेसीले जारी विश्वकपमा गोल गर्न सकेका छैनन् भने मुसाले आइसल्यान्ड विरुद्ध २ गोल गरेका थिए। दुवै टिम गर या मरको अवस्थामा छन्। अन्तिम १६ मा पुग्न अर्जेन्टिनालाई नाइजेरियामाथि जसरी पनि जित हात पार्नुपर्ने अवस्था छ। सबैको भरोसा कप्तान मेसीमाथि छ। समूहमा पुछारमा रहेको अर्जेन्टिनाको १ अंक छ भने तेस्रो स्थानको नाइजेरियाले ३ अंक बटुलेको छ।

मुसा क्रोएसिया विरुद्धको पहिलो खेलमा टिमको पहिलो रोजाइमा परेनन्। दोस्रो खेलमा पहिलो रोजाइमा परेका उनले २ गोल गर्दै आफ्नो क्षमता प्रमाणित गरे। अब अर्जेन्टिना विरुद्ध मुसाले खेल्ने पक्का जस्तै छ।

मुसाको गोलबाट ३ अंक जोड्न सफल नाइजेरियन टिममा सकारात्मक प्रभाव परेको छ। टिमले उनीमाथि धेरै विश्वास गर्न थालेको छ।

‘अर्जेन्टिनासँग खेल्दा हामीलाई गाह्रो हुन्न जस्तो लाग्छ। हामीलाई आफ्नो क्षमता थाहा छ। त्यसैले हामीले जित्नैपर्छ’, अर्जेन्टिना विरुद्ध भिड्नुअघि मुसाले भने।

बल लिएर तीव्र गतिमा अगाडि बढ्न सक्नु मुसाको बलियो पक्ष हो।

‘उनले बल अगाडि बढाउने शैली निकै राम्रो छ। जुन हाम्रो टिमको फाइदा हो’, नाइजेरियाका प्रशिक्षक जेर्नोट रोहले भने। अर्कोतर्फ, नाइजेरियाले अर्जेन्टिनासँग विश्वकपमा चार पटक भिडिसकेको छ। त्यसैले नाइजेरियालाई अर्जेन्टिनाबारे थाहा छ। यद्यपि नाइजेरियाले चार खेल नै गुमाएको थियो।

आइसल्यान्ड विरुद्धको खेलपछि भएको पत्रकार सम्मेलनमा मुसाले ठट्यौली पारामा भनेका थिए, ‘तपाईँलाई थाहा छ? मैले यसअघि पनि २ गोल गरेको याद आयो। मैले लेस्टर सिटीका लागि २ गोल गरेको थिएँ। त्यस लगत्तै हामी बार्सिलोना विरुद्ध खेल्दै थियौं। टिममा मेसी पनि थिए।’ त्यसपछि पत्रकारहरुले मुसाको नाम नै ‘लियोनल मुसा’ राखिदिएका थिए।

गर या मरको स्थितिमा रहेको नाइजेरियाका लागि मुसा आशा बनेका छन्। उनै मुसा अर्जेन्टिनाका लागि खतरा हुन सक्छन्।

चार वर्षपछि नाइजेरियासँग भिड्दा मुसा फर्ममा छन्। तर, मेसी भने टिममा एक्लिएका छन्। अघिल्ला दुई खेलमा मेसीलाई सहयोग गर्ने टिममा कोही थिएनन्।

विश्वकपमा दुई टिमको इतिहास

नाइजेरिया र अर्जेन्टिनाबीच विश्वकपको समूह चरणमा ४ पटक भिडन्त भइसकेको छ। रसिया विश्वकपमा उनीहरु पाँचौं पटक प्रतिस्पर्धा गर्दैछन्। यसअघि भएका चार वटै खेलमा अर्जेन्टिनाले जित निकालेको थियो।

सन् १९९४ मा अर्जेन्टिना २ – १ गोलले विजयी भएको थियो। सन् २००२ को विश्वकपमा पनि अर्जेन्टिनाले नाइजेरियालाई १ – ० गोलले हरायो। सन् २०१० मा अर्जेन्टिना र नाइजेरियाबीच तेस्रो पटक भिडन्त भयो। सो खेलमा अर्जेन्टिनाले १ – ० कै जित निकाल्यो। सन् २०१४ पनि अर्जेन्टिनाले नाइजेरियालाई ३ – २ गोल अन्तरले पराजित गरेको थियो।