मेसीले पाए पाँचौँ पटक गोल्डेन बुट अवार्ड - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

मेसीले पाए पाँचौँ पटक गोल्डेन बुट अवार्ड



अर्जेन्टिनाका बार्सिलोना फर्वार्ड लियोनल मेसीले पाँचौँ पटक गोल्डेन बुट अवार्ड हात पारेका छन्। गत सिजन सर्वाधिक ३४ गोल गरेका मेसीले युरोपको सर्वाधिक गोलकर्ताले प्राप्त गर्ने अवार्ड पाँचौँ पटक प्राप्त गरेका हुन्। उपाधि जितेसँगै मेसीले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका छन्। रोनाल्डोले चार पटक गोल्डेन बुट अवार्ड प्राप्त गरेका छन्।

मेसीलाई मंगलबार एक कार्यक्रमबीच अवार्ड हस्तान्तरण गरिएको थियो। अवार्डपछि मेसीले आफूले कहिले पनि अवार्डबारे नसोचेको बताए। उनले भने, ‘मैले कहिले पनि यो सब उपलब्धिबारे सोचिनँ। मेरो एक मात्र लक्ष्य र सपना भनेको फुटबलर बन्ने थियो।’ उनले व्यावसायिक फुटबलर बने पनि यति ठूलो उचाइ प्राप्त गर्नेबारे नसोचेको बताए।

मेसीले अवार्ड समारोहमा सफलताका पछाडि ठूलो मिहिनेत रहेको बताए। उनले भने, ‘म आफ्नो कामप्रति गर्व गर्छु। त्यसैले सधैँ मिहिनेत साथ काममा लाग्दा सफलता प्राप्त हुन्छ।’ उनले विश्वको उत्कृष्ट टिमको सदस्य हुन पाउँदा गर्व महसुस भएको प्रतिक्रिया दिए। ‘म विश्वका उत्कृष्ट खेलाडीका साथमा खेलिरहेको छु,’ उनले भने, ‘उनीहरूको साथले मलाई यो उपलब्धिसम्म पुर्‍याएको हो।’