मेस्सीलाई क्लब छाड्न नदिन बार्सिलोनाका अध्यक्षले नै राजिनामा दिने
एजेन्सी- बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बारटोमेउले लियोनल मेसी क्लबमै रहने भए आफू पद छाड्न पनि तयार भएको बताएका छन् ।
उनको माग रहेको छ, यसका लागि सबैभन्दा पहिले मेसीले सार्वजनिक रूपमा आफू बार्सिलोनामै रहने बताउनुपर्नेछ ।
अर्जेन्टिनी खेलाडीले तत्काल क्लब छाड्ने बताएपछि बार्सिलोना संकटबाट गुज्रिरहेको छ । युरोपेली च्याम्पियन्स लिगमा खराब प्रदर्शनपछि स्तब्ध मेसी नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको व्यवहारबाट पनि खुसी छैनन् ।
क्लबले आफ्ना साथी खेलाडी लुइस स्वारेजलाई गरेको व्यवहारमा पनि उनी दुखित रहेका छन् । स्पेनी मिडियाका अनुसार मेसी बार्सिलोनामै रहने भए अध्यक्ष बारटोमेउ तत्काल पदबाट राजीनामा दिन तयार छन् ।
यसअघि बार्सिलोनाका स्पोर्टिङ डाइरेक्टर रमोन प्लेन्सले पनि मेसी क्लबमा रहने हो भने उनलाई केन्द्रमा राखेर टिम निर्माण गर्न आफूहरू तयार भएको बताएका थिए ।