विश्वकपमा मेस्सीले बनाएका केही कीर्तिमान र तथ्य - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

विश्वकपमा मेस्सीले बनाएका केही कीर्तिमान र तथ्य



अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी विश्वकप फुटबलमा आफ्नो उमेरका हरेक दशकमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् । स्टार स्ट्राइकर मेस्सीले विश्वकपमा किशोरोवस्था, उमेरको २० को दशक र ३० को दशकमा गोल गरेका छन् ।

सन् २००६ को विश्वकपमा पहिलो गोल गर्दा किशोर थिए । २०१४ मा गोल गर्दा २० काटेर ३० नपुगेको अवस्थामा थिए । अहिले ३१ वर्ष काटेर ३२ लाग्दा पनि उनले गोल गरे । यसरी उमेरका तीन छिमलमा गोल गर्ने मेस्सी पहिलो खेलाडी हुन् ।

मेस्सीले रुसमा जारी विश्वकप फुटबल अन्तर्गत मंगलबार राति नाइजेरियासँगको खेलमा १४ औँ मिनेटमा सुन्दर गोल गरेका थिए । योसँगै उनले विश्वकपमा गरेको समग्र गोल संख्या ६ पुगेको छ । त्यसमध्ये आधा गोल त नाइजेरिया विरुद्ध गरेका छन् ।

सन् २०१४ को विश्वकपमा उनले नाइजेरिया विरुद्ध दुई गोल गरेका थिए भने यो विश्वकपमा एक गोल गरे । मेस्सी तीन विश्वकपमा गोल गर्ने अर्जेन्टिनाका तेस्रो खेलाडी पनि बनेका छन् ।

यसअघि डिएगो म्याराडोना (१९८२, १९८६ र १९९४) तथा गाब्रिएल बातिस्तुता (१९९४, १९९८ र २००२) ले तीन विश्वकपमा गोल गरेका थिए ।

मंगलबार राति १४ औँ मिनेटमा मेस्सीले गरेको गोल रुसमा जारी विश्वकपको १०० औँ गोल थियो । यो विश्वकपमा अहिलेसम्म १०५ गोल भएको छ ।

मेस्सीले यो खेलमा सात पटक बल ड्रिबल गरे, योसँगै उनी समग्रमा विश्वकपमा सबैभन्दा धेरै पटक ड्रिबल गर्ने खेलाडी बनेका छन् । उनले अहिलेसम्म विश्वकपमा १०७ पटक ड्रिबल गरेका छन् ।

उनले म्याराडोनाको ड्रिबल कीर्तिमानलाई उछिनेका हुन् । म्याराडोनाले विश्वकपमा १०५ पटक ड्रिबल गरेका थिए ।