अर्जेन्टिनाका मेस्सी र बार्सिलोनाका मेस्सी फरक हुन् - Himal Post Himal Post
  • १८ मंसिर २०८१, मंगलवार
  •      Tue Dec 3 2024
Logo

अर्जेन्टिनाका मेस्सी र बार्सिलोनाका मेस्सी फरक हुन्



इस्ट्रा — अर्जेन्टिनालाई विश्वकप अन्तिम १६ मा उछिन्ने फ्रान्सको आशा लियोनल मेसीमा भर पर्न सक्छ । तर मेसीलाई बार्सिलोनाबाट खेल्दा जस्तो साथ राष्ट्रिय टोलीमा नरहने उनकै क्लबका सहपाठी सामुइल उम्टिटीले बिहीबार बताएका छन् ।

फ्रान्सका सेन्टर ब्याक उम्टिटी पछिल्लो दुई सिजन मेसीको सहयात्री रहँदैआएका छन् बार्सिलोनामा । तर शनिबार फ्रान्स र अर्जेन्टिनाबीच निकै प्रतीक्षित खेल हुँदा मेसीको पासमा उम्टिटीले बाधक बन्ने प्रयास गर्नेछन् ।

डेनमार्कसँगको फ्रान्सको समूह चरणको अन्तिम खेलमा आराम गर्न दिइएका उम्टिटीले कजान एरिनामा अर्जेन्टिनासँग पहिलो रोजाइमा खेल्ने सम्भावना छ । ‘मैले उसलाई प्रत्येक दिन हेरेको छु । उनलाई रोक्नु धेरै कठिन छ । उनीसँग असाधारण क्षमता छ,’ उम्टिटीले भने, ‘हामी उनलाई रोक्न खोज्ने छौं । उनी अर्जेन्टिनामा एक्लो स्ट्राइकर होइनन्, उनीहरूसँग अरु पनि छन् ।’

बार्सिलोनामा मेसीसँगै लुइस स्वारेज रहने गरेका छन् । अर्जेन्टिनामा भने सबै मेसीप्रति भर परेको छ । स्ट्राइकर गोन्जालो हिगुइनले अर्जेन्टिनाबाट पछिल्ला ८ खेलमा कुनै गोल गरेका छैनन् । अर्जेन्टिनाको सबै आशा मेसीमा देखिन्छ । सम्भवत: उनी विश्वकपमा अन्तिमपल्ट पनि खेलिरहेका छन् ।

सामुइल उम्टिटी

‘बार्सिलोनाका मेसीभन्दा अर्जेन्टिनाका मेसी फरक छन्,’ उम्टिटीले भने, ‘उनीसँग यहाँ खेल्दा त्यही खेलाडी छैनन् जुन बार्सिलोनामा थिए, त्यसले उनको खेल फरक बनाएको छ । तर उनले धेरैपल्ट अर्जेन्टिनालाई उकासेका छन् । अर्जेन्टिना उनीमा टिकेको छ । तर उनी सँधैं एकरुपले त्यस्तो गरिरहन सक्दैनन् ।’

उम्टिटीसँगै रिएल म्याड्रिडका राफेल भारोनले फ्रान्सको रक्षापंक्ति सम्हाल्ने छन् । त्यसैले मेसीलाई रोक्ने जिम्मेवारी उम्टिटीलाई आउन सक्छ । समूह चरणको पहिलो दुई खेलमा मेसीको प्रदर्शन खासै देखिएको थिएन । तर मेसीकै पहिलो दुई गोलप्रेरित अर्जेन्टिनाले नाइजेरियालाई २–१ ले पराजित गरी नकआउट चरणमा पुगेको थियो ।

‘उम्टिटीलाई कुनै दबाब छैन, उनी शान्त छन्,’ फ्रान्सका मिडफिल्डर थोमस लेमारले भने ।