मेस्सीको हट्टी फ्याक्चर, बार्सिलोना गम्भीर चिन्तामा - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

मेस्सीको हट्टी फ्याक्चर, बार्सिलोना गम्भीर चिन्तामा



स्पेनिस क्लब बार्सिलोनाका गम्भीर चिन्तामा परेको छ । उसका कप्तान तथा उच्च लयमा रहेका स्टार खेलाडी लियोनल मेस्सी चोटग्रस्त भएका छन् ।

ला लिगा फुटबल अन्तर्गत शनिबार राति घरेलु मैदानमा सेभिल्लासँगको खेलको क्रममा कप्तान मेस्सी चोटग्रस्त भएका हुन् । यो खेलमा बार्सिलोनाले सेभिल्लालाई ४–२ ले हरायो र अंक तालिकाको शीर्ष स्थानमा फर्कियो ।

तर बार्सिलोनाको यो जित र शीर्ष स्थानमा गरेको पुनरागमनलाई मेस्सीको चोटले छायामा पारेको छ । अर्जेन्टाइनी मेस्सी सेभिल्लाबाट खेल्ने अर्का अर्जेन्टाइनी खेलाडी फ्रान्को भाज्क्वेजसँग ठोक्किएपछि मैदानमा लडेका हुन् ।

मैदानमा लड्ने क्रममा उनको दायाँ हातमा गम्भीर चोट लागेको हो । मेस्सी असह्य पीडाका साथ मैदानबाट बाहिरिएका हुन् खेलको २६ औँ मिनेटमा ।

उनले १२ औँ मिनेटमा टिमका लागि गोल गरेका थिए । त्यसअघि दोस्रो मिनेटमा फिलिप कोन्टिन्होले गरेको गोलका लागि सहयोग पनि गरे । बार्सिलोनाका लागि दोस्रो हाफमा लुइस स्वारेज र इभान रेकिटिकले गोल गरेका थिए ।

बार्सिलोनाले खेलपछि ३१ वर्षका मेस्सीको दायाँ हातको पाखुराको हट्टी फ्याक्चर भएको पुष्टि गरेको छ । अब मेस्सी तीन हप्ता मैदानमा हुने छैनन् । दायाँ पाखुराको र्याडिकल बोनमा फ्याक्चर भएको देखिएको हो ।

मेस्सी तीन हप्ता मैदान बाहिर रहँदा ६ खेल गुमाउने सम्भावना छ । मेस्सी एल क्लासिको अर्थात रियल मड्रिडसँगको खेलसँगै ६ खेलमा मैदान बाहिर हुने भएका हुन् ।

उनले अक्टोबर २४ मा हुने च्याम्पियन्स लिग अन्तर्गत इन्टर मिलानसँगको खेल गुमाउने छन् । यस्तै २८ अक्टोबरमा हुने रियल मड्रिडसँगको खेल, ३१ अक्टोबरमा कल्चरल लिओनेसा, ३ नोभेम्बरमा रायो भालेकानो, ६ नोभेम्बरमा इन्टर मिलान तथा ११ नोभेम्बरमा रियल बेटिससँगको खेल मेस्सीले गुमाउने सम्भावना छ ।

यसमा ला लिगाका तीन, च्याम्पिइन्स लिगका दुई तथा कोपा डेल रेको एक खेल रहेका छन् । मेस्सी नोभेम्बर २४ मा एथ्लेटिको मड्रिडसँगको खेलबाट मैदान फर्किने सम्भावना छ ।