आज मेस्सी र अर्जेन्टिना: 'वान मिस गेम फिनिस' - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

आज मेस्सी र अर्जेन्टिना: ‘वान मिस गेम फिनिस’



~~बिरेन्द्र खनाल~~

भनिन्छ नि वान मिस गेम फिनिस, हो आज मंगलबारको खेलमा अर्जेन्टिनालाई यस्तै चुनौती छ । विश्वकप २०१८ मा राम्रो प्रदर्शन गर्न नसकेको अर्जेन्टिना टिमलाई भन्दापनि टिमका कप्तान लिओनल मेस्सीलाई अझ बढी ।

संसारभर प्रशस्तै प्रसंशक बनाएका मेस्सीलाई यो खेल केही गर या मरको अवस्था छ । आफ्नो खेलजीवनमा क्लबको लागी उत्कृष्ट खेल प्रस्तुत गरेका तर देशको लागि खेल्ने नसकेको आरोप पनि लाग्ने गरेका मेस्सीले आरोपलाई चिर्न भने सकेका छैनन् । आजकै खेलले उनको करिअरमा यु टर्न ल्याउने सम्भावना पनि छ ।

मेस्सी सामान्य खेलाडी होइनन त्यसैले अन्य टिमका समर्थकले पनि उनी हारेको हेर्न चाहन्नन् । सायद नेपालमा पनि उनको खेल कुरेर बसेका थुप्रै प्रसंशक छन् । सामाजिक सञ्जालमा पनि दिनभर उनकै पक्ष र विपक्षमा बहस भइरहेको छ । कसैले अन्य समूहको समर्थन गरेको भए पनि मेस्सी हाँसेको हेर्ने इच्छा भएको स्टाटस पोस्ट समेत गरेका छन् ।

फुटबल जगतका महान् खेलाडीमा पर्ने मेस्सीलाई आफ्नै टिमको साथ नभएको र राम्रा खेलाडीलाई नखेलाएकोले पनि टिमले राम्रो प्रदर्शन गर्न नसकेको आरोप छ । यहीबिच मेस्सी र केही खेलाडीले टिमका कोच साम्पाओली विरुद्ध अभियान नै चलाएको खबर पनि आएका छन् । केही दिन अगाडी कोच साम्पओलिले खेलाडी छान्न नपाउने व्यवस्था गरिएको खबर बाहिरिएपछी प्रसंशकहरुमा छुट्टै खुसी पलाएको सामाजिक सञ्जालमा व्यक्त प्रतिक्रियाले बुझ्न सकिन्छ ।

आज नाइजेरियासंग हुने खेल मात्र हैन क्रोएसियाले खेल्ने खेलमा पनि अर्जेन्टिना निर्भर भन्नुपर्नेअवस्था छ । समूह डी मा रहेको क्रोएसियालाई आइसल्याण्डले हरायो भने मात्र अन्तिम १६ मा अर्जेन्टिनाले भाग लिन पाउनेछ ।

विश्वकपमा राम्रो प्रदर्शन गर्न नसकेको आरोपको खण्डन गर्नको लागि भने अर्जेन्टिनालाई जित्दा मात्रै पनि पुग्छ । यो भन्दा अघिल्लो २०१४ को विश्वकपमा पनि अन्तिम १६ मा पुग्न नाइजेरियासंगै खेलेको थियो । यो खेलमा अर्जेन्टिनाले ३-२ अन्तरले नाइजेरियालाई परास्त गरेको थियो ।

विश्वकपमा छनौट खेलमा पनि अन्तिम समयमा मेस्सीकै ह्याट्रिकबाट अवसर पाएको अर्जेन्टिनालाई आजको हार भने निकै महँगो पर्ने देखिन्छ । मेस्सीको खेलकौशललाई लिएर मूल्याङ्कन र उनको मूल्यमा पनि आजको खेलले ठुलो भूमिका उभाउने छ ।

समग्रमा आजको खेलले मेस्सीका आलोचकले भनेजस्तै मिस्सी बन्ने कि बादशाह बन्ने भन्ने निर्धारण गर्नेछ । त्यसैले आजको खेलमा हुने १ मिस्टेकले उनको उचाइमा गतिलो झट्का मिल्न सक्छ ।