प्रधानमन्त्रीले भने राष्टपतिले ‘मेरो सरकार' नभनेर कसको भन्ने ? - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

प्रधानमन्त्रीले भने राष्टपतिले ‘मेरो सरकार’ नभनेर कसको भन्ने ?



काठमाडौं, २२ वैशाख । प्रधानमन्त्री केपी ओलीले लोकतान्त्रिक प्रणाली र अन्तर्राष्ट्रिय अभ्यासअनुसार नै संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपतिले ‘मेरो सरकार’ सम्बोधन गरेको स्पष्टीकरण दिएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

गणतन्त्र स्थापनापछि नीति तथा कार्यक्रम सम्बोधनका क्रममा पहिलोपटक राजाकै शैलीमा राष्ट्रपति विद्या भण्डारीले मेरो सरकार सम्बोधन गरेको भन्दै आलोचना भएपछि प्रधानमन्त्री बोलेका हुन् ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार नीति तथा कार्यक्रमबारे सम्पादकसहितका संचारकर्मीसँगको अन्तरक्रियामा प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रण, सुशासन र देश विकासबाहेक सरकारको अरू कुनै स्वार्थ नभएको बताए । नेपालमा राजनीतिक दल, बौद्धिक जगत, मिडियासहित सबैमा नकारात्मक पक्षको मात्रै चर्चा गर्ने, आत्मभत्र्सना गर्ने संस्कार देखिएको भन्दै उनले सार्थक बौद्धिक बहसमार्फत् देश विकास र समृद्धिमा योगदान पुर्‍याउन ध्यानाकर्षण गराए । सवा घन्टाभन्दा लामो अन्तरक्रियामा प्रधानमन्त्रीले अधिकांश समय राष्ट्रपतिले प्रयोग गरेको शब्दबारे भएका आलोचनाको खण्डनमै खर्चिएका थिए ।

प्रधानमन्त्री ओलीले कृषि उत्पादनमा अभिवृद्धि गर्दै अबको चार वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धि गर्ने लक्ष्य सुनाए । उनले सार्थक बहसमार्फत सरकारको नीति र बाटो गलत प्रमाणित भए सच्याउन तयार रहेको बताए । ‘गलत नीति, गलत बाटो सरकारले लिएको भए सरकार बहस गर्न र सच्याउन तयार हुन्छ । सरकार देश विकासमा अगाडि बढ्न चाहन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘झुट बोल्ने, अलमल्याउने बाटोमा, छलछाममा सरकार लाग्दैन, सरकारलाई देश बनाउनेबाहेक अरू सरोकार छैन ।’

प्रधानमन्त्रीले भने, ‘मेरो सरकार नभनेर कसको भन्ने ?’

राष्ट्रपतिले मेरो सरकार भन्नुभयो । मैले मेरो देश भन्छु । मैले मेरो देश भन्दा तपाईंहरूको होइन भन्या हो र ? मेरो देश, मेरो राष्ट्र, मेरो राष्ट्रिय गान भनिन्छ । मैले मात्रै गाउने, मेरो मात्रै हो र राष्ट्रिय गान ? राष्ट्रप्रमुखको हैसियतले जुन सरकार बन्छ, त्यो सरकार राष्ट्रपतिको सरकार हो । कसको सरकार भन्ने त राष्ट्रपतिले ?

प्रधानमन्त्री ले थप भने–भारतका राष्ट्रपतिले पनि ‘मेरो सरकार’ भन्छन्

भारतमा एउटा पार्टीका तर्फबाट निर्वाचित राष्ट्रपतिले उही या अर्को पार्टीको सरकार हुँदा पनि ‘माई गभरमेन्ट’ सम्बोधन गर्छन् । भारत पनि गणतन्त्रात्मक राज्य नै हो । त्यहाँका राष्ट्रपति पनि कार्यकारी होइनन् । कोविन्दजी (भारतीय राष्ट्रपति रामनाथ कोविन्द)को संसद्मा यसअघिको नीति तथा कार्यक्रम सम्बोधन साथीहरूले युट्युबमा हेर्नुभयो भने पनि प्रस्ट हुन्छ । त्योभन्दा अघिल्लो पनि हेर्नुस्, अझै अघिल्लो, अझै अघिल्लो हेर्नुस् । धेरै राष्ट्रपति भए भारतमा । हाम्रोमा त बल्ल दुईजना राष्ट्रपति हुनुभयो । भारतमा त धेरै राष्ट्रपतिले धेरैवटा सम्बोधन गर्नुभएको छ, पार्लियामेन्टमै । अब के भारतले कमसेकम डेमोक्रेसी नै बुझेको छैन, डेमोक्रेटिक अभ्यास बुझेको छैन, त्यहाँ राजतन्त्र छ भन्ने ठान्नु, राजतन्त्रको झल्को लाग्नु ? भारतीयहरूलाई लागेन, हाम्रोमा भर्खर भर्खर राजतन्त्र गएकाले झल्को लाग्या हो ।