राष्ट्रपतिको विरोध गर्ने सामन्ती सोच भएका व्यक्ति हुन् : प्रम ओली - Himal Post Himal Post
  • ५ चैत्र २०८१, बुधबार
  •      Wed Mar 19 2025
Logo

राष्ट्रपतिको विरोध गर्ने सामन्ती सोच भएका व्यक्ति हुन् : प्रम ओली



काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दा राष्ट्रपति भण्डारीले ‘मेरो सरकार’ भनेको विषयमा भइरहेको विरोधप्रति आपत्ति जनाएका छन् । सामन्ती चिन्तन भएका व्यक्तिले मात्रै ‘मेरो सरकार’ भनेको विषयमा विरोध गर्न सक्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

राज्यको सर्वोच्च निकाय भएकाले राष्ट्रपतिले जननिर्वाचित सरकारलाई अपनत्व दिन पनि ‘मेरो सरकार’ भन्ने गरेको ओलीको तर्क छ ।

शुक्रबार सङ्‌घीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति विद्या भण्डारीले ‘मेरो सरकार’ भनेकी थिइन् । जननिर्वाचित सरकारलाई राष्ट्रपतिले ‘मेरो सरकार’ भन्नु लोकतान्त्रिक मान्यताविपरित भएको भन्दै चर्को विरोध भइरहेको छ ।

प्रधानमन्त्री ओलीले भने विरोध गर्नेहरूलाई भारतीय राष्ट्रपतिले ‘मेरो सरकार’ भन्ने गरेको हेर्न आग्रह गरे । ‘जननिर्वाचित सरकारलाई राष्ट्रपतिले मेरो सरकार भनेर अपनत्व दिन्छ, स्विर्काछ ।’ सोमबार सिंहदरबारमा गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘मेलै मेरो देश भन्छु, तर तपाईंहरूको देश होइन भनेको होइन । मेरो राष्ट्र, मेरो भाषा, मेरो संस्कृति भनेर मैले निजी भनेको हो र ? मैले त राष्ट्रिय सामूहिक भाषाको सर्वोच्च अभिव्यक्ति मात्रै दिएको हो ।’

प्रधानमन्त्री ओलीले राष्ट्रपति सर्वोच्च पद भएकाले सेना परिचालन गर्ने, संसदले पारित गरेको विधेयकलाई प्रमाणित गर्ने काम गर्ने गरेको पनि स्मरण गराए ।