मेलम्चीको पानी काठमाडौं झर्‍यो: प्रधानमन्त्री ओलीले गरे उद्घाटन - Himal Post Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

मेलम्चीको पानी काठमाडौं झर्‍यो: प्रधानमन्त्री ओलीले गरे उद्घाटन



काठमाडौँ- संघीय राजधानी काठमाडौँ उपत्यकालाई लक्षित गरी वर्षौदेखि निर्माणधिन मेलम्ची खानेपानी परियोजनाको पानी शनिबार बागमतीमा बगाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दरीजल पुगेर मेलम्चीको पानी उद्घाटन गरेका छन् । मेलम्चीबाट फागुन १० मा सुरुङमार्फत पठाइएको पानी प्रधानमन्त्री ओलीले आज बागमतीमा खसालेका हुन् ।

पानी बागमतीमा बगाउने कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘मेलम्चीको विषय सुरु हुँदा मेरो कपाल कालै थियो । अहिले कालो कपाल नै भेटिन्‍न । यसको अर्थ हो कति लामो समय लाग्यो त ? ‘अब काम सम्पन्‍न भएको छ ।’

प्रधानमन्त्री ओलीले शिवरात्रीसम्म मेलम्चीबाट ल्याइएको पानी बागमतीमा बगाउन निर्देशन दिएका थिए । शिवरात्रीमा पशुपति आउने हिन्दु धर्मावलम्बीहरुलाई मध्यनजर गर्दै पानी बगाउन निर्देशन दिएका थिए ।

खानेपानी मन्त्री मणिचन्द्र थापा र सचिव माधव बेल्वासेसहितको टोलीले आयोजनास्थल मेलम्ची पुगेर फागुन १० मा सुरुङमा पानी भर्ने कार्यको थालनी गरेका थिए । त्यसयता सुरुङमा जम्मा भएको पानी बागमतीमा छोडिएको हो ।

साढे २६ किलोमिटर लामो सुरुङमा पानी भरिएर सफल परिक्षणपछि पानी बागमतीमा छोडिएको हो । यो सफल परीक्षणपछि अब तीन महिना नकटाई काठमाडौँबासीलाई मेलम्चीको पानी उपलब्ध गराउने योजना सरकारको छ । सुरुङमा पानी पठाउने काम सफल भएकाले सुरुङ भित्रका फोहोरसहितको पानी बागमतीमा छोडिएको हो ।

बागमतीमा छोडेपछि दोस्रो चरणमा सुन्दरीजलको प्रशोधन केन्द्रमा पानी पठाइने र पानी त्यहाँबाट उपत्यकाबासीको धारामा वितरण गर्ने काम हुनेछ । सुरुवाती चरण भएकाले सुरुङको क्षमता भन्दा कम पानी छाडिएको छ ।

सुरुङमा प्रति सेकेन्ड २ सय ५० लिटर देखि ३ सय लिटरसम्म पानी पठाउने काम भएको थियो । सुरुङमा १३ करोड लिटर पानी भरेपछि दुई सातासम्म परीक्षणका लागि राखिएको हो । अब सबै पानी बागमतीमा छोडेपछि एकपटक पुनःपरीक्षण गरेर पानी छोड्दै प्रशोधन केन्द्रमा पठाइने जानकारी खानेपानी मन्त्रालयले दिएको छ ।