मेहन्दी लगाउदा पनि कर ! - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

मेहन्दी लगाउदा पनि कर !



मोरङ। मोरङको बुढीगंगा गाउँपालिकामा हजामले दैनिक २० रुपैयाँ कर तिर्नुपर्ने व्यवस्था गरिएको छ । चनाचटपटे बेच्नेले ३० रुपैयाँ, मेहन्दी लगाउनेले १० रुपैयाँ तथा चटक देखाउनेलाई २० रुपैयाँ कर तोकिएको छ । कटहरी गाउँपालिकामा चिया बेच्नेले वार्षिक ११ सय कर तिर्नुपर्ने भएको छ ।

बुटवल उपमहानगरपालिकाले घरबेटीसँग मात्रै होइन, भाडामा बस्ने विद्यार्थीसँग पनि फोहोर कर असुल्न थालेको छ । विगतमा एक घरबाट मासिक सय रुपैयाँ उठाउँदै आएकोमा यसपटकदेखि प्रतिभान्सा पचास रुपैयाँ लिन थालेको छ । विद्यार्थीका लागि भने २५ रुपैयाँ तोकिएको छ ।

घाटा लागेको व्यवसाय बन्द गर्न १० हजार
मोरङको विराटनगर महानगरपालिकाले व्यवसाय बन्द भएको सिफारिसका लागि १० हजार कर तोकेको छ । व्यवसाय दर्ता गर्न भने ५ सय शुल्क तोकिएको छ । यस्तै, बिजुली तथा टेलिफोन सिफारिसको पनि ५ सय रुपैयाँ दस्तुर तोकिएको छ ।

फिल्म सुटिङ गर्न दिनको एक हजार
तनहुँको बन्दीपुर गाउँपालिकाले बजार क्षेत्रमा फिल्म तथा म्युजिक भिडियो सुटिङ गर्नेलाई दिनको एक हजार रुपैयाँ कर तोकेको छ । बजार क्षेत्रमा ड्रोन क्यामेरा प्रयोग गरे पाँच सय रुपैयाँ दस्तुर लाग्नेछ । प्याराग्लाइडिङ उडाएको एक हजार कर तोकेको छ ।

घरको तलाअनुसार कर
यसअघि घरजग्गा मूल्यांकनका आधारमा एकीकृत सम्पत्ति कर तिर्दै आएका दाङको घोराही उपमहानगरपालिकाका नागरिकलाई अब घर र घर बनेको जग्गाको छुट्टाछुट्टै कर लागेको छ । प्रतिवर्गफिट डेढदेखि चार रुपैयाँसम्म सम्पत्ति कर कायम गरिएको छ । र, जग्गाको पनि प्रतिवर्गफिट चार रुपैयाँ बेग्लै तिर्नुपर्छ । बजार क्षेत्रमा एक तला घरको करिब आठ हजार रुपैयाँ वार्षिक सम्पत्ति कर पर्न आउँछ ।

घरको तला थपिए वर्गफिटअनुसार कर थपिँदै जान्छ । तुलसीपुर उपमहानगरपालिकामा पनि घर र जग्गाको छुट्टाछुट्टै कर छ । तर, घरका कोठाअनुसार कर तिर्नुपर्ने नियम बनाइएको छ । घोराही उपमहानगरपालिकाकी उपप्रमुख तथा कर निर्धारण समितिकी संयोजक सीता न्यौपाने भने कर बढाएको नभई करको दायरा बढाएको दाबी गर्छिन् ।

अंग्रेजी सिफारिस शुल्क ५ सय
तेह्रथुमको म्याङलुङ नगरपालिकाले अंग्रेजी भाषामा दिने सबै प्रकारका सिफारिसमा ५ सय रुपैयाँ शुल्क निर्धारण गरेको छ । यस्तै, सम्बन्धविच्छेद मुद्दा दर्ता ५ सय, नागरिकता प्रमाणपत्र सिफारिस १ सय, सर्जिमिन सिफारिस २ सय, प्रतिलिपिका लागि सिफारिस २ सय, अंगीकृत नागरिकता र वैवाहिक अंगीकृत नागरिकताका लागि १ हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ । पशु र कृषि बिमा तथा स्वास्थ्य बिमा सिफारिसका लागि १ सय रुपैयाँ र आगलागी राहत माग निवेदनका लागि १ सय रुपैयाँ लिने निर्णय गरेको छ । यस्ता करबाट चालू आर्थिक वर्षमा ६५ लाख संकलन गर्ने लक्ष्य लिएको छ ।

आफ्नै बारीको रुख काट्दा दुई सय कर
पाँचथरको कुम्मायक गाउँपालिकाले नागरिकलाई आफ्नै बारीको रुख काट्दा प्रतिरुख दुई सयका दरले कर तोकेको छ । गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत कमल भटराईले रुख काट्न निरुत्साहित गर्न यस्तो नियम राखिएको बताए । यही शीर्षकमा गतवर्ष चार लाख रुपैयाँ संकलन भएको थियो । यस्तै, जाजरकोटको भेरी नगरपालिकाले रुखको हाँगा काट्ने सिफारिसका लागि ५ सय रुपैयाँ कर तोकेको छ । नयाँ पत्रिकामा खबर छ ।