मेडिकल कलेजको ठगी धन्दा : नेसनल मेडिकलका कर्तुत कति कति - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

मेडिकल कलेजको ठगी धन्दा : नेसनल मेडिकलका कर्तुत कति कति



काठमाडौं। एकपछि अर्को मेडिकल कलेजको ठगी धन्दा सार्वजनिक भइरहेको बेला वीरगन्जस्थित नेसनल मेडिकल कलेजले छात्रवृत्ति पाएका विद्यार्थीबाट समेत चर्को रूपमा ब्याज लिने गरेको पाइएको छ । राजधानी दैनिकलाई प्राप्त कागजातअनुसार कलेजले समयमा वार्षिक शुल्क नबुझाएको भन्दै छात्रवृत्ति प्राप्त विद्यार्थीबाट चर्को ब्याज लिएको पाइएको हो ।

वार्षिक शुल्क र होस्टेल शुल्कस्वरूप संयुक्त रूपमा सो कलेजले ती विद्यार्थीबाट मनोमानी ढंगले शुल्क असुल्दै आएको छ । शुल्क ढिलो तिर्ने विद्यार्थीबाट ब्याज शीर्षकमा १२ हजार ६ सय रुपैयाँ लिएको छ । कलेजले १२ जना विद्यार्थीबाट प्रतिविद्यार्थी २ लाख ३३ हजार रुपैयाँका दरले रकम असुलेको छ ।

यस्तै, परीक्षा शुल्क शीर्षकमा ३५ हजार रुपैयाँ, छात्राबास शुल्क शीर्षकमा ६४ हजार, मेस चार्जअन्तर्गत ७३ हजार ६ सय र अन्य शीर्षकमा ४० हजार रुपैयाँ लिएको पाइएको छ । कलेजले एक विद्यार्थीबाट २ लाख २५ हजार ५ सय रुपैयाँ लिएको छ ।

सो कलेजको १६औं ब्याजमा १२ जना विद्यार्थीले सरकारबाट छात्रवृत्ति पाएर अध्ययन गरिरहेका छन् । यसरी हेर्दा सो कलेजले छात्रवृत्ति पाएका विद्यार्थीबाट प्रतिवर्ष १० लाख रुपैयाँका दरले असुलेको छ ।
स्रोतका अनुसार सो नेसनल मेडिकल कलेजले एमबीबीएस अध्ययन गर्दै आएका विद्यार्थीबाट प्रतिविद्यार्थी ६१ लाख ३६ हजार रुपैयाँ लिँदै आएको छ । सरकारले उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ५० हजार रुपैयाँ शुल्कबापत तोकेको छ ।

बढी शुल्कबारे कुरा उठाउने अभिभावकहरूलाई कलेज प्रशासनले धम्क्याउने गरेको छ । एक अभिभावकले भने, ‘कलेज प्रशासनलाई किन यति धेरै महँगो शुल्क भनेर प्रश्न गर्दा त्यसो भए विद्यार्थी नपढाउनु भनेर धम्की दिइन्छ । के गर्नु, सहनु परेको छ ।’यसअघि भैरहवास्थित युनिभर्सल मेडिकल कलेजले पनि २ करोड ८४ लाख ९० हजार रुपैयाँ ठगी गरेको सार्वजनिक भइसकेको छ । ललितपुरस्थित किस्ट मेडिकल कलेजले पनि स्वास्थ्य बिमा र किस्ट अल्मुनाईको नाममा विद्यार्थीबाट एकमुस्ट ४५ हजार रुपैयाँ शुल्क लिँदै आएको छ ।
सो कलेजले रजिस्ट्रेसन, आन्तरिक परीक्षा, स्वास्थ्य बिमा र फिल्ड भिजिटका नाममा पनि मनपरी शुल्क लिँदै आएको छ । पोखरास्थित गण्डकी मेडिकल कलेजले विद्यार्थीबाट अवैध रूपमा ५३ करोड रुपैयाँ ठगी गरेको छ । कलेजले तोकिएभन्दा बढी शुल्क लिए स्थानीय प्रशासनमा उजुरी दिन सक्ने व्यवस्था छ ।

बढी लिएको रकम फिर्ता गर्ने सहमति

विभिन्न मेडिकल कलेजहरूको ठगी धन्दा सार्वजनिक भएपछि त्यस सम्बन्धमा शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले कलेजका सञ्चालकलाई बोलाएर बढी लिएको रकम फिर्ता गर्न निर्देशन दिएको छ । मन्त्री गिरिराजमणि पोख्रेललगायत मन्त्रालयका उच्च पदाधिकारी र कलेज सञ्चालकसहितको बैठक बिहीबार मन्त्रालयमा बसेको थियो ।
बैठकमा देशभरका मेडिकल कलेजले एमबीबीएस अध्ययनरत विद्यार्थीहरूबाट लिएको बढी शुल्क एक महिनाभित्र फिर्ता गर्ने सहमति भएको मन्त्रालयका सहसचिव हरि लम्सालले जानकारी दिए । ‘सञ्चालकहरू बढी लिएको पैसा फिर्ता गर्न सहमत भएका छन् । सोहीअनुसार उहाँहरूले अब पैसा फिर्ता गर्नुपर्छ,’ उनले भने ।

बैठकमा त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलगायतका पदाधिकारीको कार्यकक्षमा लगाइएको ताला खोल्ने विषयमा पनि सहमति भएको छ । बैठकमा सहभागी अनेरास्ववियुका सचिव आरसी लामिछानेले सबै पक्षबाट सहमतिको कार्यान्वयन हुनुपर्ने बताए । यस्तै, प्रा.डा गोविन्द केसीले मेडिकल माफियाहरूलाई कारबाही नगरे सत्याग्रहसहित आन्दोलनका कार्यक्रम सुरु गर्ने चेतावनी दिएका छन् । उनले बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै ठगी गर्दै आएका कलेजलाई कारबाही नगरिए अनशन बस्ने चेतावनी दिएका हुन् ।