बढी शुल्क लिने मेडिकल कलेजको दर्ता खारेज गर्ने तयारी - Himal Post Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

बढी शुल्क लिने मेडिकल कलेजको दर्ता खारेज गर्ने तयारी



काठमाडौं। शिक्षा मन्त्रालयले चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क लिने मेडिकल कलेजहरूको सम्बन्धन खारेज गरिदिने चेतावनी दिएको छ।

चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क मेडिकल कलेजहरूले लिएको भन्ने गुनासो आएपछि शिक्षा मन्त्रालयले पटक-पटकको निर्देशन अवज्ञा गर्ने मेडिकल कलेजहरूको सम्बन्धन खारेज गर्ने चेतावनी दिएको हो।

मन्त्रालयका प्रवक्ता दीपक शर्माद्वारा बुधबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “दिएको निर्देशनलाई बेवास्ता गरी गैरकानूनी रूपमा विद्यार्थीबाट बढी शुल्क असुल गरिएमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १४ बमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ।”

राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १४ (क) मा निर्धारितभन्दा बढी शुल्क लिएमा सम्बन्धनको खारेजी गर्ने उल्लेख छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विगतमा शिक्षा र गृह मन्त्रालयले समेत निर्धारित शुल्कभन्दा बढी रकम नलिन र लिइएको पाइए प्रचलित कानूनबमोजिम कारबाही हुने भन्दै सम्बन्धित विश्वविद्यालयहरूलाई निर्देशन दिइसकेको जानकारी दिए।

चिकित्सा शिक्षाको एमबीबीएसलगायत शैक्षिक कार्यक्रमका लागि लिइने शुल्क राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १८ मा उल्लेख गरिएको छ।

मन्त्रालय र आयोगले विद्यार्थीलाई तोकिएको भन्दा बढी शुल्क नबुझाउन आग्रह गरे पनि मेडिकल कलेजहरूले बढी शुल्क नबुझाए विद्यार्थीलाई परीक्षा दिनै बञ्चित गराउँदै आएका छन्।