मिडिया हाउस विद्रोहीसँग सुरक्षा किन्छन्ः प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

मिडिया हाउस विद्रोहीसँग सुरक्षा किन्छन्ः प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा हिंसा फैलिएर गएको तर मिडिया हाउस आफैँ पैसा तिरेर बाँचेको कारण यस विषयमा लेख्न नसकेको बताएका छन् ।

प्रमुख दैनिक तथा डिजिटल पत्रिकाका सम्पादकहरुसँग सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको एक भेटमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री भन्छन्, “नेपालमा त्यस्ता समूह जन्मिएका छन् जो आफूलाई राजनीतिक दल भन्छन् तर बम पड्काउने, व्यक्तिलाई सफाया गर्ने, भौतिक कारवाही गर्ने, तोड्फोड गर्ने काम गर्दछ । तपाईहरूको मिडिया हाउस पैसा तिरेर बाँचेका छन्, लेख्न सक्दैनन् । नत्र भने के गर्छ गर्छ ।”

प्रम ओलीले भने, “जुँगा उखेल्न सक्ने, दाह्री भुत्लाउन मिल्ने यही सरकार छ । यो सरकारले जनताको अधिकारको लागि लडेको छ, लोकतन्त्रका लागि आफूलाई समर्पित गरेको छ, यसैसँग गुनासो हुन्छ । एउटा बालक एक्लै खेल्दा लड्यो भनेपनि आमालाई गएर पिट्छ किनभने आमाले केही गर्दिनन् ।” यस्तो उदाहरण दिँदै प्रधानमन्त्री ओलीले सरकार अहिलेको अवस्थामा त्यही आमा जस्तै भएको दाबी गरे ।

देशमा शान्ति सुरक्षाको स्थिति नियन्त्रणमा लिनका लागि सरकार दत्तचित्त रहेको र हिंसाको प्रवृत्ति फैलाउने, हिंसाको भाषा बोल्नेले हिंसात्मक विकृति ल्याउने तत्वलाई नियन्त्रण गरिने प्रम ओलीले बताए । नेपालको समाज एउटा सभ्यताको संवाहक भएको कारणले पनि हिंसालाई कुनैपनि रुपमा निर्मूल पार्नुपर्ने धारणा प्रमको थियो । पहिलेको समाज धेरै नैतिकवान र इमानदार भएको र धार्मिक भएकाले भगवानसँग डराउने कारणले शान्ति सुरक्षा सहज भएको तर अहिले आएर समाजमा धेरै हिंसा बढेको उनको धारणा थियो ।

यो सरकार भ्रष्टाचारको विरोधमा रहेको पनि प्रधानमन्त्री ओलीले सम्पादकहरूलाई बताए । आफूले कुनै पनि प्रकारको भ्रष्टाचार नसहने र यस विषयमा शुन्य सहनशीलताको नीति लिएको बताएका छन् । आफ्नो वरिपरि कोही पनि भ्रष्टाचारी नरहेको र यसमा ढुक्क हुन पनि उनले सुझाए । “कोही भ्रष्टाचारी भयोभने थाहा भै हाल्छ । अत्तर दलेर आएपछि त्यसको वास्ना आफै फैलिन्छ । म यस्तो मन पराउँदिन भन्ने म सँग काम गर्ने मेरा सहकर्मीलाई जानकारी छ,” उनले स्पष्ट शब्दमा भने ।