एमसिसी अगाडि नबढाउने माओवादी केन्द्रकाे निर्णय - Himal Post Himal Post
  • ९ माघ २०८२, बिहीबार
  •      Thu Jan 22 2026
Logo

एमसिसी अगाडि नबढाउने माओवादी केन्द्रकाे निर्णय



काठमाडौं- नेकपा माओवादी केन्द्रको आगामी राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ। मंगलवार बसेको स्थायी कमिटी बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको हो।

माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन पुष ११ गतेदेखि १३ गतेसम्म गर्ने निर्णय यस अघि नै गरिसकेको थियो।

त्यसैगरी बैठकले प्रदेश इन्चार्ज र अध्यक्ष तोकेको र प्रदेश पदाधिकारीहरूको सम्बन्धमा भने पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सम्बन्धित प्रदेश भित्रका केन्द्रीय कमिटी सदस्यहरूसँग परामर्श गरेर टुंगो लगाउने निर्णय गरिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

बैठकले पाँच दलीय गठबन्धन समन्वय समितिमा पार्टीको तर्फबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई पठाउने निर्णय भएको पनि प्रवक्ता महराले जानकारी दिए।

बैठकमा एमसिसीबारे राष्ट्रिय सहमती कायम नभई र संशोधन तथा परिमार्जन नभई अगाडि नबढाउने निर्णय भएकाे पनि उनले बताए। माओवादी केन्द्र न्यायालय भित्रको विवाद न्यायालय आफैले टुंग्याउनुपर्ने पक्षमा रहेको प्रवक्ता महराको भनाई छ।

माओवादी केन्द्रका प्रवक्ता महराले पाँच दलीय गठबन्धन समन्वय समिति सरकारलाई सहयोग गर्न र संविधानलाई ट्रयाकमा डोहोर्‍याउनको निम्ति आवश्यक रहेको उल्लेख गरे। सो समितिले पाँच दलीय गठबन्धनलाई सुदृढ गर्ने उनले बताए।