एमसीसीको घानमा सभामुख: महाभियोगको तयारीमा एमाले
काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोग प्रस्ताव दर्ताबारे अहिले चर्चा भैरहेको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले उनलाई हटाउनका लागि प्रस्ताव ल्याउने तयारी गरेको बताइएको छ ।
नेपाली काँग्रेससँग कुरा मिलेमा एमालेले केही दिनमै महाभियोग प्रस्ताव दर्ता गर्ने केहि नेताहरूले नै बताउने गरेका छन् । स्रोतका अनुसार एमालेका प्रभाशावली नेताहरु काँग्रेसका नेताहरुसँग यसबारे छलफल बढाउन थालिसकेका छन् । विशेषगरी एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका विश्वासपात्रबीच छलफल बढेको बताइन्छ।
पहिले एमालेले कारबाही गरेका सांसदहरूलाई बचाएको भन्दै रुष्ट बनेको एमाले मिलिनेयम च्यालेन्ज कम्प्याक्ट एमसीसीलाई रोक्न प्रचण्ड र माधव नेपाल खुलेर लागेको खण्डमा तारोमा पर्ने नेताहरूले दाबी गर्ने गरेका छन् ।
पछिल्लो समय सभामुखले एमसीसी टेबुल गर्न अवरोध गर्न सक्ने बुझाई कांग्रेसीहरूमा छ । केपी ओलीको पालामा पनि सभामुखले नै एमसीसी संसदमा टेबुल नगरेको उनीहरूको बुझाई छ ।
अर्कोतर्फ, ओली सभामुखको बर्हिगमन चाहिरहेका छन् । उनले एमसीसी पारित गर्न साथ दिने भन्दै देउवासँग सभामुख हटाउने प्रस्ताव नै गरिसकेको स्रोतको दाबी छ ।
एमसीसी पारित गर्ने विषयमा प्रचण्ड सहमतिमा नआए देउवा ओलीसँग मिल्ने चर्चा छ । त्यसका लागि भद्र सहमतिमा सभामुखको बर्हिगमनका अलावा सत्तामा देउवाको बलियो प्रभाव समेत रहने बुझिएको छ ।
संविधानमा के छ ?
संविधानमा सभामुख हट्ने व्यवस्थाहरु छन् । संविधानको धारा २९९ को उपधारा ६ बमोजिम सभामुखले लिखित राजीनामा दिएमा, व्यवस्थापिका संसदमा निजको सदस्यता नरहेमा, पद अनुकूलको आचरण गरेको छैन भन्ने प्रस्ताव संसदका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाइ सदस्यको बहुमतबाट पारित भएमा, मृत्यु भएमा पद रिक्त हुनेछ ।
सभामुखले पद अनुकूलको आचरण गरेको छैन भन्ने प्रस्ताव उपर छलफल हुने बैठकको अध्यक्षता उपसभामुखले गर्ने व्यवस्था छ । उपसभामुख नभएकाले अन्य कुनै सदस्यले गर्ने व्यवस्था छ । त्यस्तो प्रस्तावको छलफलमा सभामुखले भाग लिन र मत दिन पाउने व्यवस्था छ ।
सभामुखमाथि पद अनुकूलको आचरण नगरेको भन्ने प्रस्ताव पेश भएमा त्यस उपर छलफल भई निर्णय लिंदा दुई तिहाईले पारित भए पदमुक्त हुने संवैधानिक व्यवस्था छ । संविधान अनुसार सभामुखविरुद्ध प्रस्ताव पेश गर्ने तयारीमा एमाले रहेको बुझिएको छ । काँग्रेससँग कुरा मिलेलगत्तै उसले प्रस्ताव पेश गर्ने बुझिएको छ ।