एमसीसीप्रति सभामुख सापकोटा पनि लचक
काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बारे राष्ट्रिय सहमतिका आधारमा निर्णयमा पुग्दा राम्रो हुने बताएका छन् ।
सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा पत्रकारसँग कुराकानी गर्दै उनले एमसीसीको बहस जनताको तहमा गइसकेकाले राष्ट्रिय सहमतिका आधारमा मात्र छिनोफानो गर्दा राम्रो हुने बताए ।
“दलभित्रको कार्यदलको प्रतिवेदनमा सहमति बनाउनुपर्छ । कम्तीमा पनि संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय सहमति हुनुपर्छ । यस विषयमा गठबन्धन सरकारले गम्भीरतापूर्ण सोच्ने विषय हो,” उनले भन ।
सदनलाई प्रभावकारी रूपमा अघि बढाउन मन्त्रिपरिषद्को विस्तारपछि अनुभवका आधारमा सर्वदलीय बैठक गर्ने सोचाइ राखिएको जानकारी दिँदै सभामुख सापकोटाले सदनलाई बिजनेस दिलाउन गृहकार्य गर्ने सन्दर्भमा सरकार र राजनीति दलका प्रतिनिधिसँग छलफललाई घनिभूत तुल्याइरहेको बताए ।
जनताले लामो सङ्घर्ष र बलिदानको उपलब्धिका रूपमा रहेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व प्रदान गर्न परिवर्तनकारी दलबीच निरन्तर सहमति र सहकार्य आवश्यक रहेको बताउँदै उनले उपसभामुखको चयन छिटो हुनुपर्छ भनी कुरा चलाउँदै आएको उल्लेख गरे । रासस