चाहे जे सुकै होस्, एमसीसी रोकिन्न: देउवा - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

चाहे जे सुकै होस्, एमसीसी रोकिन्न: देउवा



काठमाडौं- कांग्रेसले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित गर्ने निर्णयबाट पछि नहट्ने जनाएको छ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीको पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ विमोचन कार्यक्रममा कांग्रेस सभापतिसमेत रहेका शेरबहादुर देउवाले उक्त कुरा बताएका हुन्। उनले कांग्रेसले प्रतिपक्षमा हुँदा एउटा र सरकारमा हुँदा अर्को कुरा नगर्ने बताएका थिए।

‘एमसीसी पारित गर्न हामी लागेका छौं। पारित गर्न पार्टीले निर्णय गरिसकेको छ। यसबाट हामी पछि हट्दैनौं’, देउवाले भने। उनले नेपालमा भएका सबै परिवर्तन कांग्रेसकै कारण भए दाबी गर्दै एमसीसी कुनै पनि हालतमा राष्ट्रको हित विपरीत नहुने बताएका छन्।

यस्तै कांग्रेस महामन्त्री गगनकुमार थापाले आफूलाई विश्वास भएको कुरामा कांग्रेस सधैँ अडिग रहने धारणा राखेका छन्। उनले आफूलाई ठिक लागेको विषयमा कांग्रेस सधैँ एउटै अडानमा रहने बताउँदै सुरुदेखि नै कांग्रेस एमसीसीका पक्षमा रहेको बताएका छन्।

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गर्दै बालुवाटारमा एउटा कुरा र खुमलटारमा अर्को कुरा गर्ने पार्टी होइन कांग्रेस नभएको बताएका छन्।