एमसीसीबारे बोले भीम रावल: तथ्य बंग्याएको आरोप - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

एमसीसीबारे बोले भीम रावल: तथ्य बंग्याएको आरोप



काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता डा. भीम रावलले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बारे मुख खोलेका छन् । उनले आफ्नो अडान परिवर्तन नभएको दाबी समेत गरेका छन्

सोमबार साँझ सामाजिक सञ्जालमार्फत नेता रावलले एमसीसीबारे नेकपा कार्यदलले बुझाएको प्रतिवेदनमा पनि परिमार्जनसहित पास हुनुपर्ने मत रहेको बताए ।

‘भीम रावलले एमसीसी अनुमोदन गर्न सहमति जनायो भन्ने समाचार गलत र दूराशयपूर्ण छ । एमसीसीबारे नेकपा कार्यदलको प्रतिवेदनमा पनि नेपालको हीत र कानून विपतिका सम्झौताका प्रावधान परिमार्जन र संशोधन गरेर मात्र अनुमोदन गर्न मिल्ने भन्ने मेरो धारणा थियो’, उनले भनेका छन् ।

नेता रावलले नेपालको स्वाभिमानसँग जोडिएको विषयमा कसैसँग सम्झौता नहुने बताएका छन् । त्यस्तै उनले भ्रममा नपर्न पनि सबैमा आग्रह गरेका छन् ।

‘त्यसमा म कायम छु । प्रतिवेदनमा पनि त्यही छ । यस्तो तथ्यलाई नबंग्याउन सबैलाई हार्दिक आग्रह गर्दछु । नेपालको सर्वाभौमसत्ता, स्वतन्त्र स्वाधीनता, अखण्डता र स्वाभिमान विपरित कसैसँग सम्झौता हुन सक्दैन । त्यस्तो कसैले गरेर मानिदैन’, उनले भनेका छन् ।

एमसीसीबारे नेकपा कार्यदलको प्रतिवेदनमा के छ ?

नेपाल सरकार र अमेरिकी सरकारको संस्था मिलेनियम च्यालेञ्ज कर्पोरसनबीच सन् २०१७ मा सम्पन्न भएको मिलेनियम च्यालेञ्ज कम्प्याक्ट सम्झौता यतिबेला संसदमा अनुमोदनको लागि विचाराधीन अवस्थामा छ ।

उक्त सम्झौताका सम्बन्धमा निर्णयमा पुग्नुअघि आवश्यक अध्ययन गरी सुझाव सहितको प्रतिवेदन प्रस्तुत गर्न केन्द्रीय कमिटीको दोस्रो बैठकबाट कार्यदल गठन गरिएको थियो । कार्यदलले आफ्नो प्रतिवेदन प्रस्तुत गरिसकेको छ ।

मिलेनियम च्यालेन्ज कम्प्याक्ट सम्झौता र सो सम्बन्धी कार्यदलको प्रतिवेदनउपर स्थायी कमिटी र सचिवालयमा छलफल गर्ने । उक्त सम्झौतालाई राष्ट्रिय हितमा स्पष्ट पार्दै आवश्यकताअनुसार परिमार्जन र संशोधन गरी अनुमोदन गर्ने ।