केलियन एम्बाप्पेले पीएसजीमा नरहने
एजेन्सी- विश्व विजेता फ्रान्स तथा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का युवा स्टार फरवार्ड केलियन एम्बाप्पेले यो सिजन सकिएलगत्तै क्लब छाड्ने घोषणा गरेका छन् । एमबाप्पेले क्लबका पदाधिकारी तथा अफिसियललाई अर्काे समरमा बिक्री गर्नका लागि आग्रह गरेका हुन् । एम्बाप्पेले क्लबका डाइरेक्टर लियोनार्दोलाई आफ्नो बिदाइ गर्न १२ महिनाको समय रहेको बताएका छन् ।
एम्बाप्पेले स्पेनिस ला लिगा अथवा इंग्लिस प्रिमियर लिगमा जाने योजना बनाएका छन् । २१ वर्षीय एमबाप्पे गत वर्षको समरमा स्पेनिस महारथी रियल म्याड्रिडसँग जोडिएको थियो । यो सिजन पनि रियलसँग जोडिएका एमबाप्पेले थप एक वर्ष पीएसजीमै बस्ने बताएपछि एमबाप्पेको ट्रान्सफर रुमर्स साम्य भएको थियो ।
विश्वव्यापी बनेको कोरोना महामारीका कारण क्लबहरू आर्थिक मन्दीमा रहेपछि महँगा एमबाप्पेलाई यो सिजन कुनै पनि क्लबले मोटो रकम खर्चन हिम्मत गरेनन् । एम्बाप्पेलाई पीएसजीले २०१८ मा १ सय ६५ मिलियन पाउन्डमा फ्रेन्च क्लब मोनाकोबाट अनुबन्ध गरेको थियो । पीएसजीमा उनको सम्झौता एक वर्षसम्म रहेको छ । उनी फ्री एजेन्टमार्फत अन्यत्र क्लब जाने योजनामा छ ।
एम्बाप्पेले अर्को समरमा क्लब छोड्ने बताएपछि पीएसजीलाई दबाब बढाएको छ । उसले एम्बाप्पेलाई फ्री ट्रान्सफरमा पठाउन चाहेको छैन । नयाँ सम्झौताका लागि पीएसजीले एम्बाप्पेलाई बारम्बार अफर गरेको भए पनि उनले स्विकारेका छैनन् । एम्बाप्पेको चाहना बार्सिलोना या रियाल मड्रिडमा जाने रहेको छ । यसका साथै उनी प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र लिभरपुलबाट खेल्ने इच्छा पनि रहेको बताएका छन् ।
पीएसजीले फ्रान्सको घरेलु फुटबलमा एकछत्र राज गरे पनि युरोपियन फुटबलमा उल्लेख्य प्रभाव जमाउन सकेका छैनन् । गत सिजन क्लबकै इतिहासमा पहिलोपटक च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरे पनि पीएसजी फाइनलमा जर्मन क्लब बायर्न म्युनिखसँग १–० ले पराजित हुँदै उपाधि विमुख बनेको थियो ।