यस्तो चोट लुकाएर विश्वकप खेले एम्बाप्पे - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

यस्तो चोट लुकाएर विश्वकप खेले एम्बाप्पे



फ्रान्सका स्ट्राइकर केलियन एम्बाप्पेले विश्वकपको सेमिफाइनल र फाइनल खेल चोटसहित खेलेको खुलासा गरेका छन्।

फ्रान्स फुटबल म्यागेजिनसँग कुरा गर्दै एम्बाप्पेले बेल्जियमसँगको सेमिफाइनलको तीन दिनअघि आफ्नो मेरूदण्डको तीन वटा हड्डी सरेको बताएका छन्।

‘हाम्रा प्रतिद्वन्द्वीलाई त्यो कुरा थाहा नदिनु जरूरी थियो। नत्र उनीहरूले त्यसको फाइदा उठाउँदै त्यो संवेदनशील भागमा केन्द्रीत हुन्थे,’ विश्वकपमा चार गोल गरेका एम्बाप्पेले भनेका छन्, ‘त्यसैले खेलाडी र टोलीका अन्य सदस्यले फाइनलको अघि पनि त्यो कुरा लुकाए।’

बेल्जियमविरूद्धको सेमिफाइनल र क्रोएसियाविरूद्ध फाइनल दुबै खेलमा एम्बाप्पेले राम्रो प्रदर्शन गरेका थिए।

फाइनलमा उनले एक गोल पनि हानेका थिए। पहिलो पटक विश्वकप खेलेका एम्बाप्पे उत्कृष्ट युवा खेलाडी बनेका छन्। १९ वर्षीय एम्बाप्पेले टिनएजमै विश्वकपको एउटै खेलमा २ गोल र फाइनलमा गोल गर्ने पेलेको रेकर्ड पनि बराबर गरेका छन्।

पिएजीबाट व्यावसायिक फुटबल खेल्ने एम्बाप्पेले विश्वकपमा आफूले पाएको तलब र भत्ता ५ करोड ५८ लाख रूपैयाँ शारिरिक अपांगता भएका बच्चाहरूलाई खेलमा सघाउने संस्थालाई दान दिने बताएका छन्।