तीन दिनसम्म मौसम एकदम खराव :सुरक्षित रहन आग्रह
काठमाडौं । राजधानीको मौसम आज बिहानैदेखि बदलिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पूर्वी क्षेत्रका भू–भाग तथा मध्य र पश्चिमका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ । देशका पूर्वी क्षेत्रका केही स्थानमा तथा मध्य र पश्चिमी पहाडी भेगका थोरै स्थानहरुमा अपरान्हतिर मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद्का अनुसार पूर्वी भागमा न्यूनचापीय रेखासमेत देखिएकोले त्यस क्षेत्रमा मौसम फेरबदलको सम्भावना अझ बढी हुनेछ । आज राति देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान महाशाखाले गरेको छ । देशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।
भोलि शनिबार दिउँसो पनि देशको पूर्वी तथा मध्य भू–भाग र पश्चिमका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ । देशको पूर्वी भू–भागका थोरै स्थानमा र मध्य तथा पश्चिमी पहाडी भू–भागका केही स्थानमा अपरान्हतिर मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेख छ ।
शनिबार राति पूर्वी भू–भाग तथा मध्य र पश्चिमका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ । देशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाको भनाइ छ ।
आउँदो आइतबार दिउँसो पनि देशको पूर्वी तथा मध्य पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान छ । देशको पूर्वी भू–भागको थोरै स्थानमा अपरान्हतिर मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको र आइतबार राति देशका पहाडी भेगमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान महाशाखाले गरेको छ ।
यस्तै मौसम एक्कासी बदलि हुने भएकोले जानकारहरुले सबैलाई सुरक्षित र सजग रहन आग्रह पनि गरेका छन् ।