मौद्रिक नीति आज सार्वजनिक हुने, महामारीमा कस्तो आउला सहुलियत ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंक व्यवस्थापन समितिको हिजो साँझ बसेको बैठकले मौद्रिक नीति स्वीकृत गर्दै बोर्डमा पठाएको छ ।
आज बिहान बस्ने राष्ट्र बैंकको बोर्ड बैठकले स्वीकृत गरेपछि अपरान्ह गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । राष्ट्र बैंकले साउन पहिलो साता नै मौद्रिक निति ल्याउने तयारी गरेको भएपनि असार अन्तिम साता भएको सरकार परिवर्तनले मौद्रिक नीति पछि सरेको थियो ।
अर्थमन्त्री जनार्दन शर्माले मंगलबार संसदमा आर्थिक श्वेतपत्र पेश गरेपछि मौद्रक नीतिका लागि मार्ग निर्देशन भएको भन्दै राष्ट्र बैंकले आज मौद्रिक नीति ल्याउने तयारी गरेको हो ।
कोभिडको तेस्रो लहर आउने विश्लेषणका बीच राष्ट्र बैंकले मौद्रिक नीति ल्याउन लागेकाले आर्थिक पुनरुउत्थानका लागि अघिल्लो मौद्रिक नीतिले दिएको सहुलियतलाई निरन्तरता दिन्छ कि दिँदैन भन्नेमा उद्योगी व्यवसायीको चासो रहेको छ ।
यस्तै बैंक तथा वित्तिय संस्थाहरुले पुँजी विस्तारको माग गरेकाले उक्त माग सम्बोधन होला नहोला भन्नेमा पनि चासो छ । यस्तै पछिल्लो समय बुलिस प्रवृत्तिमा रहेको पूंजीबजार सम्बन्धि कस्तो नीति आउला भन्नेमा पनि लगानीकर्ताको चासो छ ।
केपी ओलीको सरकारले चालु आर्थिक वर्षमा साढे ६ प्रतिशतको आर्थिक वृद्धिदर तथा मुद्रास्फीति पनि साढे ६ प्रतिशतमा सीमित राख्ने लक्ष्यसहित बजेट ल्याएको थियो । तर, नयाँ सरकारले बजेट संशोधनका लागि प्रतिस्थापन विधेयक ल्याउने बताएकाले त्यसमा केही परिमार्जन हुन सक्ने अनुमान गरिएको छ ।