मौद्रिक नीति आजै ल्याउने नेपाल राष्ट्र बैंकको तयारी: कस्तो आउला ? - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

मौद्रिक नीति आजै ल्याउने नेपाल राष्ट्र बैंकको तयारी: कस्तो आउला ?



काठमाडौं- नेपाल राष्ट्र बैंकले मौद्रिक नीति घोषणा गर्ने तयारी गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोनाका कारण अर्थतन्त्र संकटमा परेको भन्दै त्यसलाई उकास्न सबै पालिकालाई पुनर्कर्जा उपलब्ध गराउने गरी राष्ट्र बैंक तयारीमा जुटेको यस अघि नै बताइसकेका थिए ।

मौद्रिक नीति घोषणा तयारीका लागि यसका लागि अहिले केहिबेरमा बोर्ड बैठक बस्दैछ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारी गरिरहेको नेपाल राष्ट्र बैंकले यस अघि विभिन्न सरोकारवालाहरुसँग सुझाव मागेको थियो ।

कोरोनाका कारण कयौँ युवाहरु रोजगारी गुमेका कारण बेरोजगार भएका छन् । जसका कारण सरकारले बजेटमार्फत नयाँ रोजगारी सृजना गर्ने योजना अघि सारेको छ ।

राष्ट्र बैंकले बजेटलाई सहयोग गर्ने गरी मौद्रिक नीति ल्याउने भएकाले रोजगारी सृजना गर्ने गरी पुनर्कर्जालाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने योजना बनाएको बताइएको छ ।

पुनर्कर्जा कार्यान्वयन गर्न सके स्थानीय तहमा रोजगारी बढ्ने हुँदा राष्ट्र बैंक त्यसतर्फ केन्द्रीत भएको बताइएको छ । उनले कोरोनाको असर रहेसम्म पुनर्कर्जाको व्यवस्था रहने समेत जानकारी दिए । ७ सय ५३ वटै पालिकालाई पुनर्कर्जा उपलब्ध गराउने गरि मौद्रिक नीति ल्याउने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अर्थविद् र सरोकारवालाहरुले नेपाल राष्ट्र बैंकले आगामी मौद्रिक नीति तर्जुमा गर्दा संघीय अर्थ व्यवस्था सुहाउँदो र बन्दाबन्दी र कोरोनाबाट शिथिल आर्थिक क्रियाकलापलाई गतिशील बनाउन सघाउ पुग्ने खालको व्यवस्था गर्न ध्यान दिनु पर्ने सुझाव दिएका थिए।