राजीनामा नदिए प्रधानमन्त्री ओलीलाई पार्टीले हटाउँछ: मातृका यादव
काठमाडौं- सत्तारुढ नेकपामा विवादले उग्र रुप लिइरहेका बेला पार्टी स्थायी कमिटी सदस्य मातृका यादवले भने प्रधानमन्त्रीलाई पार्टीले कारबाही गर्ने बताएका छन् ।
उनले प्रधानमन्त्री पदबाट राजीनामा नदिए केपी शर्मा ओलीलाई पार्टीले हटाउने बताएका छन् । सगरमाथा टेलिभिजनसँगकुरा गर्दै पूर्वमन्त्री समेत रहेका नेकपाका स्थायी कमिटि सदस्य यादवले प्रधानमन्त्री ओलीले राजीनामा नदिए पार्टीले कारबाही गर्नसक्ने बताए ।
कुनै पन नेतालाई पार्टीको निर्णय मान्दिन भन्ने अधिकार र छुट नभएको भन्दै पार्टी नमान्ने जो कोहीलाई कारबाही हुने उनले बताए । केपी शर्मा ओलीले पनि पार्टीको घोषणा पत्रको आधारमा चुनाव जितेर प्रधानमन्त्री भएपछि पार्टीको निर्णय मान्नुपर्ने बताउँदै उनले पार्टीको निर्णय नमान्ने, बैठक नराख्ने जस्ता कार्य भएपछि ओलीलाई प्रधानमन्त्रीबाट हटाउनु पर्ने भएको
समेत बताए ।
प्रधानमन्त्री ओलीले मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा आफूलाई भारतको इसारामा आफ्नै नेताहरूले हटाउन खोजेको अभिव्यक्ति दिएपछि जारी स्थायी कमिटि बैठकमै एजेन्डाभन्दा बाहिरको बिषयले स्थान पाएको थियो ।
असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाललगायतका नेताहरुले ओलीलाई प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिन भनेका छन् ।
प्रधानमन्त्री र अध्यक्षबाट ओलीसँग राजीनामा मागेपछि नेकपाभित्रको विवाद चरमोत्कर्षमा पुगेको छ । यही बेला यादवले ओलीले राजीनामा नदिए पार्टीले हटाउने बताएका हुन् ।