मात्रिका यादव मन्त्रीबाट हट्ने संकेत - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

मात्रिका यादव मन्त्रीबाट हट्ने संकेत



काठमाडौं– उद्योगमन्त्री मात्रिका यादवले आफू मन्त्रीबाट हट्ने संकेत गरेका छन् । शुक्रबार राजधानीमा बोल्दै मन्त्री यादवले आफू लगानी सम्मेलनसम्म मन्त्री पदमा नबस्ने संकेत गरेका हुन् ।

अन्तर्राष्ट्रिय उपभोक्ता अधिकार दिवसको अवसरमा राजधानी काठमाण्डुमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताए ।

उनले भने, ‘मेरो एउटै आग्रह के छ भने, आज म एकदमै भावुक छु, हेर्नुस् । हामी सबै मिलौं । म भन्ने देखाइदिनुस् । आफू भित्रको ममा यस्तो छ भन्ने पनि देखाइदिनुस् । कहाँ–कहाँ के क्षमता छ, देखाइदिनुस् । हामीभित्र कहाँ– कहाँ शंका छ, के छ त्यो हटाऔं । रूपान्तरण हौं र बहस गरौं । मैले निजी सचिवज्यूलाई भनिसक्या छु । लगानी सम्मेलनपछि म मन्त्री भएपनि नभएपनि हामी एउटा वृहत भेला गरौं । सबै पक्षको साथीहरू बसेर वृहत भेला गरौं । हामी एक दिन नास्ता नखाएर पनि बस्न सक्छौं । घरबाटै खाएर आएर पनि बस्न सकिन्छ । एउटा हल मागेर पनि । म मन्त्री भयो भने हाम्रो मन्त्रालयको छँदैछ । म नभएपनि माग्न त सकिन्छ नि !’

उनले आफू सँधै मन्त्रीको पदमा बसिनरहने प्रष्ट पारेका छन् । उनले भने, ‘म मन्त्री भएर मात्रै होइन । आज मन्त्री छु । मन्त्री सधैँ त रही रहँदैन । मन्त्री त पर्मानेन्ट जागिर होइन । मन्त्रीहरूको हल्ला भयो यो जाँदै छ भनेर भने कुनै हाकिमले टेर्दैन हेर्नुस् । सांसद त रहन्छु नि त । चार वर्ष त अझै छ । म त सांसदै भएर पनि धेरै काम गर्थें जस्तो लाग्छ । मन्त्री भएपछि सबै चीज बोल्न पनि नपाइने, गाह्रो हुन्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यसम्पादन सन्तोषजनक नभएका मन्त्री हटाउने तयारी थालेकासँगै मात्रिका आफैंले यस्तो बताएका हुन् । स्राेतकाअनुसार मन्त्री यादवसहित कृषि मन्त्री बलदेव खनाललगायतका केही मन्त्रीकेा कार्यसम्पादन सन्ताेषजनक छैन् ।

मन्त्रीहरूको कार्यक्षमता मूल्यांकनका लागि ‘सफ्टवेयर’ नै विकास गरेर त्यसमार्फत सबै काम नियाल्दै मूल्यांकन गरिरहेका ओलीले लगानी सम्मेलनपछि मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी थालेको प्रधानमन्त्रीका एक सल्लाहकारले जानकारी दिए । लगानी सम्मेलन चैत १४ र १५ गते काठमाण्डुमा आयोजना हुँदैछ ।